प्रधानमन्त्री कप जितेको पुरस्कार रकम नपाएपछि फेसबुकमा महिला राष्ट्रिय टिम उप-कप्तान सिताको आक्रोस

गत महिना असारमा कन्चनपुरमा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिताको विजेता टिम शशस्त्र प्रहरी बल ( एपीएफ ) ले अझै विजेता बापत पुरस्कार रकम नपाएको खुलेको छ।

एपीएफ महिला क्रिकेट टिम कप्तान समेत राष्ट्रिय क्रिकेट टिमको समेत उपकप्तान सिता राना मगरले आफ्नो फेसबुकमा सोमबार राति स्टाटस राख्दै पुरस्कार नपाएकोमा आक्रोस व्यक्त गरेकी छिन्।

असार ११ गते सम्पन्न फाइनलमा एपीएफले सुदुर पश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। पुरस्कार बापत एपीएफले ५ लाख रुपैयाँ तथा उप-विजेता सुदुरपश्चिम प्रदेशले ३ लाख रुपैयाँ प्राप्त गर्नु पर्ने थियो।

“चोरै चोरको देश ?? … प्रधानमन्त्री कप महिला प्रतियोगिता सकिएको १ महिना बितिसक्यो तर हामीले हाम्रो व्यक्तिगत पाउन पर्ने पुरस्कार राशी अझै पाएका छैनौँ। पत्रपत्रिकामा चाहि नगद राशी प्रप्त गरेका छन् भनेर हावा गफ फेक्ने अनि अहिले अनेक बहाना गर्दै हामीलाई अड्काउने ??… जे गरेनी भाको छ मनमर्जीको राज छ वा रे वा….. ???? भन्ने कस्लाई ?? गुहार गरु कस्लाई?? कठै बरा खेलाडी हामी???”  सिताले फेसबुकमा आक्रोस व्यक्त गरेकी हुन्।

प्रधानमन्त्री कप महिला क्रिकेटको आयोजना राष्ट्रिय खेलकुद परिषदले गरेको थियो जसको व्यवस्थापन महाकाली स्पोर्ट्स सोसाईटीले गरेको थियो।

राखेपले आयोजना गरेको प्रतियोगितामा पुरस्कार पाउन ढिलाइ भएको यो पहिलो पटक हैन। यस अघि प्रधानमन्त्री कप ( पुरुष ) प्रतियोगिताको विजेताले पनि पुरस्कार निकै ढिला पाएका थिए। यो वर्ष सम्पन्न प्रधानमन्त्री कप ( पुरुष ) प्रतियोगितामा त खेलाडीहरुलाई पुर्व घोषित रकम र मोटरसाइकल समेत नदिंदा राखेप आलोचित भएको थियो।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको कुल बजे ८८ लाख रुपैयाँ रहेको थियो जसमध्ये ३५ लाख राखेपले दिएको थियो भने नपुग रकम महाकाली स्पोर्ट्स सोसाइटीले जुटाउने बताईएको थियो।

प्रतियोगिता जित्ने टिमले ५ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ  तथा उत्कृस्ट खेलाडीले ३० हजार तथा उत्कृस्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पुरस्कार राखिएको थियो।

पुरुष क्रिकेट टिम धेरै वटा प्रतियोगिता खेल्ने तथा अन्तर्राष्ट्रिय क्रिकेटमा समेत सहभागिता जनाउदा महिला क्रिकेटको प्रतियोगिता भने निकै कम हुँदै आएको छ। त्यसमाथि आयोजकले पुरस्कार रकम समेत ढिलाई गर्दा महिला क्रिकेटरहरु मर्कामा पार्नु स्वाभाविक हो।

यस अघि गत हफ्ता मात्रै राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्रीले पनि सम्बन्धित निकायलाई महिला क्रिकेटलाई अवहेलना गरेको आरोप लगाएकी थिईन्। उनले निकै कम सुबिधा र तयारीका बाबजुद थाईल्याण्डमा सम्पन्न् टि-२० स्म्यास र विश्वकप छनौटमा उप-विजेता रहे पनि नेपाली टिमलाई बेवास्ता गर्दै पुरस्कार तथा सम्मान प्रदान नगरिएकोमा आक्रोस व्यक्त गरेकी थिईन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy