दोश्रो एकदिवसीयमा बंगलादेशलाई सहजै ७ विकेटले पराजित गर्दै श्रीलंकाले ३ एकदिवसीयको सिरिजमा १ खेल अगावै २-० ले जितेको छ। यस अघि पहिलो एकदिवसीयमा पनि श्रीलंका ९१ रनले विजयी भएको थियो।
प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको बंगलादेशले दिएको २३९ रनको लक्ष्य घरेलु टिमले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
ओपनर अभिस्का फर्नान्डोले सर्वाधिक ८२ रन बनाउदै जितको आधार तयार गरे। उनले ७५ बलमा ९ चौका र २ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि कप्तान डिमुथ करुनारत्नेसंग ७१ रनको तथा कुशल परेरासंग ५८ रनको साझेदारी गरे।
कुशल मेन्डिस र एन्जेलो म्याथुजले चौथो विकेटको लागि ९६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। मेन्डिसले ७४ बलमा ४ चौका प्रहार गर्दै ४१ तथा म्याथुजले ५७ बलमा ७ चौका मदतले ५२ रन बनाए। बंगलादेश बलर मुस्ताफिजुर रहमानले २ तथा मेहदी हसनले १ विकेट लिए।
रहिमको उत्कृस्ट इनिंग
यस अघि मुस्फिकुर रहिमले अविजित ९८ रन बनाए पनि माथिल्लो क्रमका अन्य बंगलादेशी ब्याट्सम्यानहरुले खास योगदान दिन सकेनन्। रहमानले चौथो नम्बरमा ब्याटिंग गर्दै ११० बलमा ६ चौका र १ छक्का प्रहार गरे।
एक समय ११७ रनमा ६ विकेट गुमाईसकेको बंगलादेशलाई सातौँ विकेटको लागि रहमान र मेहदी हसनले ८४ रनको साझेदारी गर्दै उकासेका थिए। हसनले ४३ रन बनाए। श्रीलंकाको बलिंगमा नुवान प्रदिप ( १०-०-५३-२ ) , इसुरु उडाना ( १०-०-५८-२ ) र अकिला दनंजय ( १०-०-३९-२ ) ले २/२ विकेट लिए।
दुइ देश बीच तेश्रो एकदिवसीय जुलाई ३१ तारिक बुधबार खेलिनेछ।
रहिमको ६ हजार रन पुरा
एकदिवसीय अन्तर्राष्ट्रियमा ६ हजार रन पुरा गर्ने मुस्फिकुर रहिम तेश्रो बंगलादेशी ब्याट्सम्यान बनेका छन्।यस अघि तामिम इकबाल र शकिब अल हसनले मात्र ६ हजार रन पार गर्न सकेका थिए।
इकबाल बंगलादेशको लागि सर्वाधिक रनकर्ता हुन् जसले २०३ खेलमा ११ शतक र ४७ अर्धशतक मदतले ६ हजार ८ समय ९० रन बनाएका छन्। यस्तै शकिबले २०६ खेलमा ६ हजार ३ सय २३ रन बनाउदा ९ शतक र ४७ अर्धशतक बनाएका छन्। रहिमले २१५ खेलमा ७ शतक र ३७ अर्धशतक मदतले ६ हजार ९० रन बनाएका छन्।
बंगलादेशको लागि एकदिवसीयमा सर्वाधिक विकेट लिने बलर मश्रफे मुर्तजा हुन् जसले २६५ विकेट लिएका छन्। दोश्रो स्थानमा शकिब अल हसन रहेका छन् र उनको २६० विकेट रहेको छ। तेश्रो धेरै अब्दुर रज्जाकको २०७ , चौथो रुबेल होसेंको १२५ विकेट रहेको छ।
( फोटोहरु – आईसीसी )