बिग ब्यास छोडेर नेपाल फर्कनुको कारण बताउदै सन्दिपले भने “राष्ट्रिय टोली प्रमुख प्राथमिकता”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको झण्डाभन्दा ठूलो कोही नभएको बताएका छन् । अस्ट्रेलियामा जारी बिग ब्यास लिगको लिग चरण सकिएपछि प्लेअफ खेल छाडेर सन्दीप बीचमै नेपाली राष्ट्रिय टोलीमा सहभागी बन्न शुक्रबार राति नेपाल फर्किएका हुन्। उनि एकदिन आराम र पिसीआर परिक्षण पछि आइतबार देखि प्रशिक्षणमा सामेल हुनेछन्।

सन्दीपले नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बिग ब्यास लिग बीचमा छाडेर नेपाल आउनुको कारण बताए-

“राष्ट्रिय टोलीको जिम्मेवारी मेरो प्रमुख प्राथमिकता हो र टिमसँग सामेल भएर आगामी दिनका योजनाहरु बनाउन पनि हो । अहिलेको टोलीमा युवा खेलाडीका साथै पहिलेदेखी खेल्दै आएका सिनियर दाइहरु पनि हुनुहुन्छ । सबैजना एकठाँउमा उभिएर मिलेर अगाडि बढ्ने योजना बनाउनुका साथै सन्तुलित टिम बनाउने योजनाबारे ‘वर्क आउट’ गर्नुपर्ने थियो । त्यसका लागि पनि म चाँडै फर्किएको हुँ ।” सन्दिपले बताए।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवाद छलफबाटै समाधान हुनु क्रिकेटका लागि राम्रो पक्ष भएको सन्दिपले बताए।

“यो सबै हुँदा म अष्ट्रेलियामा थिएँ । धेरै कुरामा उतारचढाव भए । म यहाँ नहुनु पनि केही दुर्भाग्यपूर्ण रह्यो । तर, विस्तारै ती सबै कुरा समाधान भएका छन् । परिवारभित्रको कुरा परिवार भित्र नै समाधान भयो । जुन राम्रो हो। परिवारको कुरा परिवारभित्रै सल्टिनु राम्रो पक्ष हो । विवाद सल्टिएपछि सबैजना खुशी हुनुहुन्छ । क्रिकेट एउटा टिम हो, एउटै परिवार हो । नेपालको झण्डाभन्दा ठूलो कोही छैन । अब सबैजना मिलेर अगाडि बढ्नेछौं, देशको लागि खेल्नेछौं” सन्दीपले बताए।

क्यानले हालै ज्ञानेन्द्र मल्ललाई पदमुक्त गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । साथै क्यानले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ मा सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय पनि गरेको थियो । त्यसपछि खेलाडी र क्यानबीचको विवाद थप चर्किएको थियो । विवादपछि क्यान खेलाडीमाथिको कारबाही फिर्ता लिन तयार भएको थियो भने खेलाडीहरू सन्दीपलाई कप्तान मान्न तयार भएका थिए । यी सबै घटना चल्दा सन्दीप अस्ट्रेलियामा थिए ।

सन्दिपले सिनियर खेलाडीलाई कप्तानी गर्न कठिनाइ नहुने पनि बताए – “मलाई विश्सास छ, यसमा कुनै कठिनाई हुँदैन । यस विषयमा धेरै कुरा उठिरहेको हुन्छ । तर, मलाई लाग्छ, यसमा हामी सबैबीच राम्रो ‘अन्डरस्ट्यान्डिङ’ हुनेछ । किनभने हामी पहिला पारस दाइको कप्तानीमा खेल्थियौं । फेरी ज्ञानु दाई (ज्ञानेन्द्र मल्ल)को कप्तानीमा खेल्यौं । हामी एकअर्कासँग बाँधिएका छौं । सबैजना एकै पटक कप्तान हुन मिल्दैन । तर, आफ्नोतर्फबाट सबै सिनियर दाइहरुलाई सम्मान गर्दै युवा खेलाडीहरुलाई कसरी प्रेरित गर्ने भन्ने हो । हामीले पनि सिनियर खेलाडीसँग धेरै सिक्न बाँकी छ । यो सबै कुराको मिश्रणले राम्रो हुने विश्वासमा छु ।”

नेपाली क्रिकेट टोली अहिले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको अन्तिम तयारीमा छ । क्यानले तयारीका लागि भर्खर मात्र प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरी १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

सन्दीपले अस्ट्रेलिया रहँदा आफूले प्रधानमन्त्री कप नछुटाई हेरेको पनि बताए। प्रशिक्षक पुबुदु दासानायकेले आफूलाई क्रिकेटमा ल्याएकाले उहाँसँग सहकार्य गर्न पाउनु खुशीको क्षण भएको पनि बताए।

“उहाँले नै मलाई पहिलो पटक ‘पिक’ गरेर यहाँसम्म ल्याइदिनु भयो । त्यसकारण पनि हामीलाई अगाडिको यात्रामा सजिलो हुने विश्वास लिएको छु । हामीबीच ‘कम्युनिकेसन ग्याप’हरु पनि खासै हुँदैनन् । त्यसले गर्दा टिममा योजना बनाउँदा होस् अथवा अन्य विषयमा कुरा गर्दा होस्, हामी एकआपसमा खुलेर कुरा गर्न सक्छौं ।”

नेपालले अब फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुने टी–२० विश्वकप ग्लोबल छनोट खेल्दैछ । त्यस अघि नेपालले ओमन, आयरल्याण्ड र युएईसंग टि-२० सिरिज पनि खेल्नेछ। सन्दीपको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपालसँगै ओमान, आयरल्यान्ड, यूएई, फिलिपिन्स, जर्मनी, बहराइन र क्यानडा छन् ।
समूह ‘बी’ मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका रहेका छन् । समूहको शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।





थप समाचार

नेपाल र हङकङबीचको रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]