श्रीलंकाको बंगलादेश भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल शेरे बंगला नेसनल स्टेडियम ढाकामा सुरु भएको छ।
खेलमा टस जितेर ब्याटिंग रोजेको घरेलु टोलि बंगलादेशले ४८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४६ रन बनाउदै श्रीलंकालाई २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बंगलादेशको सुरुवात खराब रह्यो। ओपनर तथा कप्तान तमिम इक्बाल १३ रन तथा शाकिब अल हसन खाता नखोली दोश्रो ओभरमा दुश्मन्था चमिराबाट आउट भए।
चौथो नम्बरमा आएका मुश्फिकुर रहिमले त्यसपछि एक किनार सम्हालेर ब्याटिंग गरे। २५ रन बनाएका लिटन दास र १० रन बनाएका मोसद्देक होसेनलाई लक्षण सन्दकनले क्याच आउट गर्दा बंगलादेशले ७४ रन जोड्दा ४ विकेट गुमाउन पुग्यो।

पाँचौ विकेटको लागि रहिमले महमुदुल्लाहसंग ८७ रनको साझेदारी गर्दै खराब अवस्थाबाट टिमलाई उकासे। ५८ बलमा १ चौका र २ छक्का मद्दतले ४१ रन बनाएका महमुदुल्लाहलाई ३४ औं ओभरमा सन्दकनले क्याच आउट गराउदै श्रीलंकालाई खेलमा फर्काए। अफिफ त्यसपछि अफिफ हुसेन १० तथा मेहदी हसन खाता नखोली आउट भए।
आठौँ विकेटको लागि रहिमले मोहम्मद सैफुद्दीनसंग ४८ रनको साझेदारी गरे। ४७ औं ओभरमा रन आउट हुनु अघि सैफुद्दीनले ११ रन बनाए। त्यसपछि रहिम ४९ औं ओभरमा दुश्मन्था चमिराबाट क्याच आउट हुन पुगे।
१२७ बलमा १२५ रन बनाएका रहिमले १० चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा रहिमको यो व्यक्तिगत आठौँ शतक हो। अघिल्लो खेलमा पनि रहिमले ८४ रन बनाएका थिए। बंगलादेशको लागि रहिम भन्दा बढी शतक तमिम इकबाल ( १३ ) र शाकिब अल हसनले ( ९ ) मात्र बनाएका छन्।
श्रीलंकाको बलिंगमा देब्रे हाते स्पिनर लक्षण सन्दकन ( १०-०-५३-३ ) र दुश्मन्था चमिरा ( ९.१-२-४४-३ ) ले समान ३ विकेट लिए। इसुरु उडानाले २ तथा वानिन्दु हसरंग ( १०-१-३३-१ ) ले १ विकेट लिए।
तिन खेलको सिरिजमा बंगलादेश १-० ले अघि रहेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेश ३३ रनले विजयी भएको थियो।
धेरैले पढेको
https://wicketnepal.com/mehboob-alamle-wisha-chakit-banayeko-din/
https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/
https://wicketnepal.com/naseem-shah-psl-niskasit-wn21/
https://wicketnepal.com/puma-sponsor-ryan-burl-wn21/
