भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल कोलोम्बोको आर प्रेमदासा स्टेडियममा जारि रहेको छ।
खेलमा टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २६२ रन बनाउदै भारतलाई २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
श्रीलंकाको ब्याटिंगमा चमिका करुनारत्नेले करियरकै व्यक्तिगत सर्वाधिक रन बनाउने क्रममा सर्वाधिक ४३ रन बनाए। अविजित रहेका उनले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान दासुन शनाकाले ३९ रन, छरित असलंकाले ३८ रन, अभिस्का फर्नान्डोले ३२ रन, मिनोद भानुकाले २७ रन, भानुका राजपक्षले २४ रन योगदान दिए। धनन्जय डी सिल्भाले १४ तथा दुश्मन्था चमिराले १३ रन बनाए।
अभिस्का फर्नान्डो र मिनोद भानुकाले ४९ रनको ओपनिंग साझेदारी गरेका थिए। १० औं ओभरमा युजभेन्द्र चाहलले फर्नान्डोलाई क्याच आउट गराए। दोश्रो विकेटको लागि भानुकाले राजपक्षसंग ३६ रनको साझेदारी गरे। १७ औं ओभरमा राजपक्ष र भानुकालाई कुलदिप यादवले क्याच आउट गराउदै भारतलाई खेलमा हावी गराए। क्रुनाल पान्ड्याले २५ औं ओभरमा धनन्जय डी सिल्भालाई पेभेलियन फर्काए।
पाँचौ विकेटको लागि चरिथ असलंका र कप्तान दासुन शनाकाले ४९ रनको साझेदारी गरे। असलंकालाई ३८ औं ओभरमा दिपक चाहरले क्याच आउट गराए। त्यसपछि शनाकाले एक किनार सम्हालेता पनि श्रीलंकाले नियमित विकेट गुमाउन पुग्यो। ४४ औ ओभरमा शानकालाई लेग स्पिनर चाहलले क्याच आउट गराए।
नवौं विकेटको लागि चमिका करुनारत्ने र दुश्मन्था चमिराले मात्र १९ बलमा ४० रनको साझेदारी गर्दा श्रीलंकालाई राम्रो योगफलतर्फ डोर्याए। इनिंग्सको अन्तिम ५ ओभरमा श्रीलंकाले २ विकेट गुमाउदा ५२ रन योगफलमा जोड्न सक्यो। त्यसक्रममा भुवनेश्वर कुमारले गरेको इनिंग्सको अन्तिम ओभरमा करुनारत्नेले २ छक्का र १ चौका प्रहार गरेका थिए।
भारतको बलिंगमा दिपक चाहर ( ७-१-३७-२ ) , युजभेन्द्र चाहल ( १०-०-५२-२ ) र कुलदिप यादव ( ९-१-४८-२ ) ले समान २ विकेट लिए .क्रुनाल पान्ड्या ( १०-१-२६-१ ) र हार्दिक पान्ड्याले ( ५-०-३३-१ ) ले समान १ विकेट लिए।
खेलमा भारतका दुई खेलाडी इशान किशन र सूर्यकुमार यादवले तथा श्रीलंकाका भानुका राजापक्षले डेब्यु गरेका छन्।