टि-२० विश्वकप सुरु : नामिबियाद्वारा श्रीलंका स्तब्ध

आठौं संस्करणको टि-ट्वान्टी विश्वकप २०२२ अस्ट्रेलियामा सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणको समुह ‘ए’ को खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गर्दै स्तब्ध पारेको छ। टेस्ट राष्ट्र श्रीलंका बिरुद्ध नामिबियाको यो ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय जित हो।

सिसोन्स स्टेडियम जिलोंगमा सम्पन्न खेलमा नामिबियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा १०८ रन मात्र बनाउन सक्यो। श्रीलंकाको लागि कप्तान दासुन शनाकाले २९ तथा भानुका राजापक्षले २० रन योगदान दिए।

नामिबियाका बलर डेभिड विजा, बर्नार्ड स्कल्ज, बेन सीकोंगो र जान फ्राईलिंकले २/२ तथा जेजे स्मितले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नामिबियाले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षतिमा १६३ रन बनाएको थियो।

खराब सुरुवात गरेको नामिबियाले १४.२ ओभरमा ९३ रन बनाउदा ६ विकेट गुमाएको थियो। त्यसपछि जान फ्राईलिंक र जेजे स्मितले आक्रामक ब्याटिंग गरे। दुवैले सातौँ विकेटको लागि ३४ लमा ७० रन जोडे। फ्राईलिंकले अन्तिम बलमा आउट हुनु अघि २८ बलमा ४ चौका मद्दतले ४४ रन बनाए भने स्मितले १६ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ३१ रन बनाए। स्टेफेन बार्डले २६ तथा कप्तान मरे इरास्मस र लफ्टि इटनले २०/२० रन बनाए।

श्रीलंकाको बलिंगमा प्रमोद मधुशनले २ विकेट लिंदा महेश थिक्साना, दुश्मन्था चमिरा, चमिका करुणारत्ने र वानिन्दु हसरंगाले १/१ विकेट लिए।

विश्वकपको पहिलो चरणमा ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा नेदरल्याण्ड, युएई, नामिबिया र श्रीलंका छन् भने समुह ‘बि’ मा वेस्टइन्डिज, जिम्बाब्वे, आयरल्याण्ड र स्कटल्याण्ड छन्। समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समूहको उत्कृस्ट दुई टिम सुपर -१२ चरण प्रवेश गर्नेछन्।

प्रतियोगिताको समुह ‘ए’ अन्तर्गतकै दोश्रो खेल आज दिउँसो १:४५ बजे युएई र नेदरल्याण्ड बीच खेलिनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy