श्रीलंकाको लज्जास्पद हार, विश्वकपमा एकतर्फी नतिजा आउने क्रम जारि

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकपको खेलहरु एकतर्फी भएको निर्क्योल गर्दै यो पटक देखि विश्वकपमा मात्र १० वटा टिमलाई खेलाउने निर्णय गरेको थियो। तर यो पटक विश्वकपको खेलहरु लगातार एकतर्फी हुँदा आईसीसीको निर्णयको व्यंग्य क्रिकेट फ्यानहरुले गर्न थालेका छन्।

विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई १०४ रनले तथा दोश्रो खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले एकतर्फी ढंगले पराजित गर्यो। तेश्रो खेलमा पनि नतिजा फरक रहेन र न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले पराजित गर्यो।

इंग्ल्याण्ड र वेल्समा जारि २०१९ एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिवारको पहिलो खेलमा एसियाली टोली श्रीलंकामाथि न्युजिल्याण्डले फराकिलो जित दर्ता गरेको हो।

कार्डिफ स्थित सोफिया गार्डेन मैदानमा टस जितेर फिल्डिंग गरेको न्युजिल्याण्डले श्रीलंकालाई १३६ रनमा समेट्यो। जवाफमा १३७ रनको लक्ष्य ब्ल्याकक्याप्स टोलीले मात्र १६.१ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो।

न्युजिल्याण्डको जितमा ओपनर मार्टिन गुप्टिलले अविजित ७३ रन तथा कोलिन मुन्रोले अविजित ५८ रन जोडे। मात्र ५१ बल खेलेका गुप्टिलले ८ चौका र २ छक्का सहित ७३ रन जोड्दा ४७ बलमा मुन्रोले ६ चौका र १ छक्का सहित ५८ रन बनाए।

यसअघि टस जितेर बलिंग रोजेको न्युजिल्यान्डले श्रीलंकालाई सस्तैमा समेट्दा खेलको प्लेयर अफ दि म्याच चुनिएका म्याट हेनरीले सानदार बलिंग गरे। आफ्नो ७ ओभरको स्पेलमा हेनरीले मात्र २९ रन दिएर ३ विकेट चट्काए। यस्तै लक्की फर्गुसनले समेत समान ३ विकेट लिए।

श्रीलंकाको ब्याटिंगमा कप्तान दिमुथ करुनारत्नेले अविजित ५२ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहेन। करुनारत्ने संगै कुशल पेरेरा र थिसरा पेरेरा बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

प्रतियोगितामा श्रीलंकाले आफ्नो दोस्रो खेल आउँदो मंगलावर अफगानिस्तान बिरुद्ध खेल्नेछ। यस्तै न्युजिल्याण्डको दोस्रो खेल भने आउँदो बुधवार बंगलादेश बिरुद्ध रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy