श्रीलंकामाथि दक्षिण अफ्रिकाको जित

२०८१ जेष्ठ २१, सोमबार २३:२३

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि जित निकालेको छ ।

अमेरिकाको न्युयोर्कमा नेपाल रहेको समूह डी को पहिलो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भयो ।

श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्विटन डि ककले २७ बलमा २० तथा हेनरिक क्लेसनले २२ बलमा अविजित १९ रन बनाए । कप्तान एडेन माकरमले १४ बलमा १२ तथा ट्रिस्टन स्टब्सले १३ रन बनाए ।

श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगाले दुई तथा दासुन शनका र नुवान तुसाराले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा ७७ रन बनाउँदै अल आउट भएको थियो ।

श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ३० बलमा १९ तथा एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन बनाए । कमिन्डु मेन्डिसले १५ बलमा ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्कियाले ४ ओभरमा ७ रन मात्र खर्चिएर ४ विकेट लिए । कागिसो रबडा र केशब महाराजले समान दुई दुई तथा ओटनिल ब्राटम्यान एक विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका समूह डी को शीर्ष स्थानमा छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह डी मा दक्षिण अफ्रिका र श्रीलंकाका अलावा नेपाल, नेदरल्यान्ड्स र बंगलादेश तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy