जानेमन मलान र तब्रेज शाम्सीले उत्कृस्ट प्रदर्शन गर्दा दोश्रो खेलमा घरेलु टिम श्रीलंकालाई ६७ रनले ( डीएलएस मेथड ) ले पराजित गर्दै दक्षिण अफ्रीकाले तिन खेलको सिरिज १-१ को बराबरी गरेको छ।
कोलोम्बो स्थित आर. प्रेमदासा स्टेडियममा गय राति सम्पन्न खेलमा दक्षिण अफ्रीकाले निर्धारित ४७ ओभरमा २८३ रन बनाउदै २८३ रनको लक्ष्य दिएको थियो। दोश्रो इनिंग्स वर्षाले प्रभावित भएपछि श्रीलंकाले ४१ ओभरमा २६५ रनको लक्ष्य पाएको थियो जुन पछ्याउने क्रममा श्रीलंकाले ३६.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १९७ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको श्रीलंकाले ६१ रनमा पहिलो ४ विकेट गुमाएको थियो। त्यसपछि चरिथ असलंका र कप्तान दासुन शनाकाले ४४ रनको साझेदारी गरेता पनि त्यसपछि ठूलो साझेदारी खेलमा बन्न सकेन। असलंकाले ६९ बलमा ७७ रन बनाए भने चमिका करुना रत्नेले ३६ तथा शनाकाले ३० रन बनाए।
दक्षिण अफ्रीकाको बलिंगमा चाइनाम्यान बलर तब्रेज शाम्सीले करियरकै उत्कृस्ट बलिंग स्पेल दर्ता गर्ने क्रममा ७.४ ओभरमा ४९ रन खर्चेर ५ विकेट लिए। कागीसो रबाडाले २ तथा वियान मुल्डर, केशब महाराज र जर्ज लिन्डेले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित ४७ ओभरमा ६ विकेट क्षेतीमा २८३ रन बनाएको थियो। उसको लागि मात्र नवौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा ओपनर जानेमन मलानले करियरको तेश्रो शतक बनाए। ४५ औं ओभरमा दुश्मन्था चमिराबाट एलबिडब्लु हुनु अघि उनले १३५ बलमा ९ चौका र १ छक्का मद्दतले १२१ रन बनाए। रिजा हेन्ड्रिक्सले ५१, हेनरीच क्लासेनले ४३ रन योगदान दिए।
मलानले २१ रन बनाएका एडेन मारक्रमसंग ४३ रनको ओपनिंग, दोश्रो विकेटको लागि हेन्ड्रिक्ससंग ९६ रनको तथा चौथो विकेटको लागि क्लासेनसंग ८६ रनको साझेदारी गरेका थिए।
श्रीलंकाको बलिंगमा दुश्मन्था चमिरा ( ७-०-५२-२ ) र चमिका करुनारत्ने ( ५-०-२४-२ ) ले समान २ विकेट तथा वानिन्दु हसरंगा र धनन्जय डी सिल्भाले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल श्रीलंकाले १४ रनले जितेको थियो। सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेल सेप्टेम्बर ७ तारिख मंगलबार खेलिनेछ जसपछि दुई देशले सेप्टेम्बर १० तारिख देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरीज खेल्नेछ।
