काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपाल रहेको समूह डी को पहिलो खेल आज हुदैछ ।
नवौं संस्करणको विश्वकपको चौथो खेलमा समूह डी मा रहेका श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार सोमबार बेलुका सवा आठमा अमेरिकाको न्युयोर्कमा हुदैछ ।
दुवै टिम सन् २००७ बाट सुरु प्रतियोगिताको सबै संस्करणमा सहभागी रहेका छन् । श्रीलंका २०१४ को च्याम्पियन टोली हो । भने, दक्षिण अफ्रिका २००९ र २०१४ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।
सन् २०२२ मा अस्ट्रेलियामा भएको आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेर दुवै टोली यस विश्वकपका लागि छनोट भएका थिए ।
श्रीलंका र दक्षिण अफ्रिकाबीच टी-२० आईको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिका अपराजित रहेको छ ।
नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह डी मा दक्षिण अफ्रिका र श्रीलंकाका अलावा नेपाल, नेदरल्यान्ड्स र बंगलादेश तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।
समूह बी मा नामिबिया, ओमान, अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड तथा समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।
सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।
विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।