स्मिथ पुनः चम्किदा भारत बिरुद्ध अस्ट्रेलियाको सिरिज जित

२०७७ मंसिर १४, आईतवार १८:४२

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तिन खेलको एक दिवसीय शृंखला अन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा भारत बिरुद्ध ५१ रनको सहज जित दर्ता गर्दै घरेलु टोलि अष्ट्रेलियाले एक खेल अगावै सिरिज २-० ले आफ्नो नाम गरेको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा ६६ रनको जित निकाल्दै अस्ट्रेलियाले सिरिजमा अग्रता लिएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको यो लगातार पाँचौ हार हो।

सिड्नी स्थित सिड्नी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले ३९० रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा भारतले ९ विकेटको क्षतिमा मात्र ३३८ रन बनाउन सक्यो। भारतका लागि कप्तान बिराट कोहली र उप-कप्तान केएल राहुलले अर्धशतक बनाएता पनि टिमलाई जितसम्म डोर्‍याउन सकेनन्।

ओपनरद्वय मयंक अग्रवाल र शिखर धवनले क्रमशः २८ र ३० रन बनाए। उनीहरुले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए। कप्तान कोहलीले ८७ बलमा ८९ रन बनाए जुन क्रममा ७ चौका र २ छक्का हिर्काए। श्रेयस अय्यरले कप्तान कोहलीसंग मिलेर तेस्रो विकेटको लागि ९३ रनको साझेदारी गर्दै भारतको इनिंग सम्हालेका थिए। अय्यरले ३६ बलमा ३८ रन बनाउन सके। उप-कप्तान राहुलले ६६ बलमा ७६ रनको पारी खेल्दै भारतलाई खेलमा जिवित राखेका थिए। ४ चौका र ५ छक्का हिर्काएका राहुललाई एडाम जम्पाले आउट पारे। हार्दिक पाण्ड्याले २८, रविन्द्र जडेजाले २४ तथा नवदिप सैनीले अविजित १० रन बनाए।

कोहलीले ८९ रन बनाए

अष्ट्रेलियाको बलिंगतर्फ प्याट कमिंंसले (१०-०-६७-३) सर्वाधिक ३ विकेट लिए। जोस हेजलवुड र एडम जम्पाले समान २-२ विकेट हात पारे भने मोइसेस हेनरिक्स र ग्ले म्याक्स्वेलले समान १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउदै ३८९ रनको विशाल योगफल तयार गरेको थियो।

घरेलु टिमको लागि लगातार दोस्रो तथा करियरको ११ औं शतक बनाउने क्रममा स्टिभ स्मिथले १०४ रनको आक्रामाक पारि खेले। ६४ बलको सामना गरेका उनले १४ चौका र २ छक्का हिर्काए। सिरिज अन्तर्गत पहिलो खेलमा पनि शतक बनाउने क्रममा स्मिथले ६६ बलमा १०५ रन बनाएका थिए। दुवै खेलमा उनले ६२ बलम शतक पुरा गरे। स्मिथले भारतसंग पछिल्लो ३ खेलमा शतक बनाएका छन्।

कप्तान एरोन फिंच र डेभिड वार्नरले पहिलो विकेटको लागि १४२ रनको साझेदारी गर्दै घरेलु टोलीलाई शानदार सुरुवात दिलाएका थिए। फिंच र वार्नरले  यो वर्ष एकदिवसीयमा गरेको यो चौथो शतकीय ओपनिंग साझेदारी हो।


कप्तान फिंचले ६९ बलमा ६० रन तथा वार्नरले ७७ बलमा ८३ रन बनाए। तेस्रो विकेटको लागि मार्नस लाबुसेन र स्टिभ स्मिथले १३६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको पारि उकासेका थिए। स्मिथ हार्दिक पांड्याको बलिंगमा मोहम्मद शामीको हातबाट समातिएका थिए। लाबुसेनले ६१ बलमा ७० रन बनाए जसदौरान ५ चौका प्रहार गरे। अन्तिममा ग्लेन म्याक्स्वेलले २९ बलमा ६३ रनको विस्फोटक पारि खेल्दै अष्ट्रेलियालाई विशाल योगफलतर्फ डोर्याएका थिए। उनले समान ४ चौका र ४ छक्का हिर्काए।

भारतको बलिंगतर्फ हार्दिक पांड्या (४-०-२४-१), मोहम्मद शामी (९-०-७३-१) र जसप्रित बुम्राहले (१०-०-७९-१) समान १-१ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम एकदिवसीय डिसेम्बर २ तारिख, बुधबार खेलिनेछ। त्यसपछि दुइ देश बीच ३ वटा टि-२० अन्तर्राष्ट्रिय तथा ४ वटा टेस्टको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy