EPL : आउट दिएपछि अम्पायरलाई आक्रोश देखाएका सोमपाललाई कारवाही

२०७८ आश्विन १५, शुक्रबार २२:०७

एभरेस्ट प्रिमियर लिग अन्तर्गत बिहिबारको चितवन टाइगर्स र काठमाडौँ किंग्स-११ बीचको खेलमा अम्पायरले एलबिडब्लु आउट दिएपछि क्रिजमा आक्रोश पोखेका चितवनका कप्तान सोमपाल कामिलाई कारवाही स्वरूप जरिवाना गरिएको छ।

खेलमा खाता नखोली जितेन्द्र मुखियाबाट एलबिडब्लु भएका सोमपालले अम्पायर विनय कुमार झाको उक्त निर्णय पछि क्रिजमा उभिएर प्याड भन्दा माथि लागेको इसारा गर्दै अम्पायरलाई हेर्दै आक्रोसित मुद्रामा अपशब्द बोलेका थिए। उनले बोलेको कुरा भने सुनिएको थिएन।

“हिजोको चितवन टाइगर्स र काठमाडौँ किंग्स-११ बीचको खेलमा चितवन टाइगर्सका कप्तान सोमपाल कामिले अम्पायरको निर्णय पछि थाई प्याड देखाउदै आक्रोशित मुद्रामा अपशब्द बोलेको पाइएको थियो। उनलाई म्याच फिसको २५ प्रतिशत जरिवाना गरिएको छ भने धारा २.८ अनुसार एउटा डी-मेरिट पोइन्ट पनि दिईएको छ।” ईपीएलले प्रेस बिज्ञप्ति जारि गर्दै जानकारी गराएको छ। सोमपालले आफ्नो गल्ति स्वीकार गरिसकेका छन्।

यस्तै शुक्रबारको बिराटनगर र ललितपुर पेट्रिएट्स बीचको खेलमा ढिला ओभर गरेका कारण ललितपुर पेट्रिएट्सका कप्तान कुशल भुर्तेललाई म्याच फिसको १० प्रतिशत तथा अन्तिम-११ मा रहेका अन्य १० जना खेलाडीहरुलाई म्याच फिसको १० प्रतिशत जरिवाना गरिएको छ। खेलाडीले प्रतियोगिता खेल्दा पाउने कुल रकमलाई कुल खेलले भाग गरेर आउने रकमबाट उक्त जरिवाना निर्धारण हुने गर्छ। यस अघि चितवनसंगको खेलमा ढिलो ओभर रेटको कारण काठमाडौँ किंग्स-११ का कप्तान सन्दिप लामिछानेलाई पनि बिहिबार म्याच फिको १० प्रतिशत र अन्य खेलाडीलाई म्याच फिको २ प्रतिशत जरिवाना गरिएको थियो।

यस्तै हिजोको खेलमा अम्पायरसंग वाइड बल माग गरेका चितवन टाइगर्सका अफगानि खेलाडी मोहम्मद शहजादलाई म्याच रेफ्रीले चेतावनी दिएका छन्। शहजादले आफ्नो गल्ति स्वीकार गरिसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy