टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

२०७८ माघ ६, बिहीबार १०:४५

Sompal Kami

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा गरेको छ।

घोषित टिममा प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका युवा खेलाडी लोकेश बम तथा बिबेक यादवलाई मौका दिईएको छ। एपीएफको प्रतिनिधित्व बमले प्रतियोगिताको सेमीफाइनलमा त्रिभुवन आर्मी क्लब बिरुद्ध १४ बलमा अर्धशतक प्रहार गर्दै अविजित ६६ रन बनाएका थिए। यस्तै बागमती बिरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए। यस अघि बमले नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसेका छन्।

प्रदेश-२ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्दै आएका छन्। यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका फास्ट बलिंग अलराउण्डर यादवले प्रधानमन्त्रीकपमा ४ खेलमा ८७ रन बनाएका थिए। गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शानदार ब्याटिंग गरेका यादवले ५ इनिंग्समा ११६ रन बनाएका थिए।

टिममा सोमपाल कामिले भने स्थान बनाउन सकेनन्। खराब लयमा रहेका सोमपालले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेटमा दुई खेल मात्र खेल्दा एक विकेट लिएका थिए। त्यस पछि उनि घाइते हुँदा प्रतियोगिताको अन्य खेल भने गुमाउन पुगेका थिए। यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले पनि टिममा स्थान बनाउन सकेनन्। भण्डारीले प्रधानमन्त्री कप टि-२० मा ४ खेलमा ७७ रन बनाएका थिए। यस्तै पवन सर्राफ, सुशन भारि, बिक्रम सोब, रोहित पौडेल, गुल्सन झा, सागर ढकालले स्थान बनाउन सकेनन्।

टिममा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका एपीएफका ओपनर प्रदीप ऐरी तथा आर्मीका फास्ट बलर जितेन्द्र मुखियाले पनि मौका पाएका छन्। ऐरीले प्रतियोगितामा ६ खेलमा ५४.२५ को औशत र १०१.९१ को स्ट्राइक रेटमा २ अर्धशतक मद्दतले २१३ रन बनाएका थिए। आसिफ शेख ( २२७ रन ) पछि ऐरी दोश्रो सर्वाधिक रनकर्ता समेत थिए। २०१९ पछि ऐरीले रास्ट्रिय टिममा पुनरागमन गरेका हुन्।

राष्ट्रिय टिममा जितेन्द्र मुखियाले समेत पुनरागमन गरेका छन्। २०१५ पछी मुखियाले राष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन्। प्रधानमन्त्री कप टि-२० मा आर्मीको प्रतिनिधित्व गरेका मुखियाले ४ खेलमा ७ विकेट लिएका थिए भने गत वर्ष एभरेस्ट प्रिमियर लिगमा ५ खेलमा ९ विकेट लिएका थिए।

सन्दिप लामिछाने कप्तानीको टिममा ब्याट्सम्यानको रुपमा कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी र लोकेश बम छन्। यस्तै बलरमा करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम छनोट भएका छन्।

घोषित १६ सदस्यीय टिम :
 सन्दिप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम

टि-२० विश्वकप २०१६ मा कुल १६ टिम सहभागी हुनेछन् जसमध्ये अब चार टोलिको टुंगो लाग्न बाँकी छ। उक्त चार टोलिको टुंगो टि-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताले गर्नेछ। ग्लोबल क्वालीफायरमा कुल टोलि सहभागी छन् जसलाई दुई वटा समुहमा बिभाजन गरेर आठ/आठ टोलि सहभागी दुई वटा ग्लोबल क्वालीफायर खेलाइनेछ। दुवै प्रतियोगिताबाट दुई/दुई टिम टि-२० विश्वकप २०२२ मा छनोट हुनेछन्।

नेपालले ओमानमा आगामी महिना फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्दैछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल छनोट (ए) मा सहभागी आठ टोलिलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समुहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। दुईवटा सेमीफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने टि-२० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछ।

समुह ‘ए’ : नेपाल, ओमान, फिलिपिन्स र क्यानडा
समुह ‘बि’ : युएई, बहराइन, आयरल्याण्ड र जर्मनी

प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ।

नेपाल Vs ओमान : फेब्रुअरी १८ , ११:४५ बजे बिहान ( ओमान क्रिकेट एकडेमी मैदान )

नेपाल Vs फिलिपिन्स : फेब्रुअरी १९, ११:४५ बजे बिहान ( अल अमिरात क्रिकेट मैदान )

नेपाल Vs क्यानडा : फेब्रुअरी २१, ३:४५ बजे ( ओमान क्रिकेट एकडेमी मैदान )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy