सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

२०७९ चैत्र ७, मंगलवार १९:१४

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ ।

आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको भन्दै गाउँपालिकाले नगद ५० हजार रुपियाँ सहित सम्मान गर्न लागिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

क्रिकेट खेलाडी कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका हुन्न । उनको परिवार हाल भारतमा बसोबास गदै आइरहे पनि अहिलेसम्म बसाइसराई नलिएको वडा नम्बर ८ का वडाध्यक्ष फणीन्द्रराज अर्यालले बताए ।

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

गाउँपालिकाले घोषणा गरेको पुरस्कार राशि समयानुकूल मिलाएर भौतिक उपस्थितिमा कार्यक्रम गरी हस्तान्तरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको बताए ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ‘डकवर्थ लुइस’ नियमका आधारमा नेपाल विजयी भएको हो ।

नेपाल ९ रनले विजयी भएको थियो । जितसँगै नेपालले एकदिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ ।

त्यस्तै, यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका उनलाई गाउँपालिकाले नगद ५० हजार रुपियाँ सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

उनले कुबेरविरुद्ध शतक समेत प्रहार गरेका थिए । क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगद सहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy