सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच ३ वर्षको सम्झौता

२०८२ श्रावण १, बुधबार २२:२४

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिम रोयल्सले एसपीए कलेजसँगको साझेदारीलाई थप २ वर्षका लागि निरन्तरता दिएको छ। यो सहकार्य अब ३ वर्षसम्म रहनेछ।

धनगढीस्थित एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेललाई सँगै अघि बढाउने काम गरिरहेको छ। एसपीए कलेजले एनपीएलको पहिलो सिजनदेखि नै सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै आएको हो।

एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले खेलकुदले युवालाई प्रेरणा दिने शक्ति भएको बताउँदै टिमसँगको सहकार्यले कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

हालै एसपीए कलेजले मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप जित्न योगदान पुर्‍याउने सुदूरपश्चिमका खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिएको थियो।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुभाष शाहीप्रति आभार प्रकट गर्दै फाप्ला क्रिकेट रंगशाला निर्माणमा उनको योगदानको प्रशंसा गरे। साथै, आगामी दिनमा पनि यो साझेदारीलाई निरन्तरता दिने इच्छा व्यक्त गरे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy