सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ।
सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा राजदेवी रोयल र खडक वारियर्स विजयी भएका छन्।
पबी स्कुल मैदानमा सम्पन्न आजको पहिलो खेलमा राजविराज राजदेवी रोयलले कन्चनरुप राइनोजलाई ३७ रनले पराजित गर्यो।
जितको लागी १२१ रनको लक्ष्य पाएको राइनोजले निर्धारित १५ ओभरमा ८३ रन मात्र बनाउन सक्यो। उसको लागि रौनक सिंहले सर्वाधिक २५ रन बनाए भने प्रविन भुजेलले १९ तथा महानन्द यादवले १२ रनको योगदान दिए।
राजविराज राजदेवी रोयलको बलिंगमा यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका अभिषेक तिवारी र दिवान पुनले समान २ विकेट लिए। मोहम्मद सोहेल र शिव दासले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको रोयलले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा १२० रन बनाएको थियो। वर्षाका कारण खेल ढिला सुरु हुँदा १५ ओभरमा घटाइएको थियो।
रोयलको ब्याटिंगमा दिवान पुनले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले २६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सद्दाम आलमले अविजित २१ रन, रोहन बिकले १८ तथा प्रविन यादवले १५ रन बनाए।
राइनोजको बलिंगमा अभिमन्यु सरदारले २ तथा राशिद खान, मुकेश सिंह र रौनक सिंहले १/१ विकेट लिए।
आजै सम्पन्न दोश्रो खेलमा खडक वारियर्सले रुपनी राइडर्सलाई २६ रनले पराजित गर्यो।
१३८ रनको लक्ष्य पाएको राइडर्सले १८. ५ ओभरमा १११ रनमा सबै विकेट गुमायो। एक समय ७६ रनमा मात्र १ विकेट गुमाएको राइडर्सले लगातार विकेट गुमाउन पुग्यो र थप ३५ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।
राइडर्सको लागि ओपनर इमरान शेखले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। शेख रन आउट भएपछि अन्य ब्याटर लामो समय क्रिजमा जम्न सकेनन्। महेश माझिले २३ तथा बिकी चौधरीले १४ रन योगदान दिए।
वारियर्सको बलिंगमा कप्तान अभिषेक कार्की, पप्पु यादव ( बि ) र फिर्दोश अन्सारीले समान २ विकेट लिए। बाबु गोठीया, पप्पु यादव ( ए ) र गोपाल मण्डलले समान १ विकेट लिए।
यस अघि पहिले ब्याटिंग गर्देको खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो। उसको लागि ओपनर अनिल कुमार यादवले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ४१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। पप्पु यादव ( बि )ले २५ , पप्पु यादव ( ए ) ले अविजित १९ रन, सन्तोष कार्कीले १३ तथा गोपाल मदनलले अविजित १० रन बनाए।
राइडर्सका बलर नबिन मण्डलले सर्वाधिक ३ विकेट लिए। यस्तै अशोक मेहताले २ तथा बिशाल पटेलले इमरान शेखले १/१ विकेट लिए।

८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समुह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्। समुह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि दुवै समुहबाट उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल साउन १ गते हुनेछ।
प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
