सप्तरी प्राइड लिग : खडक वारियर्स र कन्चनरुप राइनोज सेमीफाइनलमा, सेमीफाइनल समिकरण पुरा

सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ।

मंगलबार सम्पन्न दुई वटा खेल जित्दै कन्चनरुप राइनोज समुह ‘ए’ को उपविजेताको रुपमा तथा खडक वारियर्स समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेका छन्। यस अघिनै समुह ‘ए’ को विजेताको रुपमा राजविराज राजदेवी रोयल तथा समुह ‘बि’ को विजेताको रुपमा तिरहुट टाइगर्स सेमीफाइनल प्रवेश गरिसकेका थिए। राजगढ वारियर्स, हनुमाननगर हिरोज, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र रुपनी राइडर्स पहिलो चरणबाट बाहिर भएका छन्।

भोलि बुधबार प्रतियोगिताको दुवै सेमीफाइनल खेल हुनेछन् जसमा राजविराज राजदेवी रोयलले खडक वारियार्ससंग संग तथा तिरहुट टाइगर्सले कन्चनरुप राइनोजसंग प्रतिस्पर्धा गर्नेछन्। साउन १ गते बिहिबार उपाधि भिडन्त हुनेछ।

पबी स्कुलमा सम्पन्न आजको पहिलो खेलमा  हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कन्चनरुप राइनोजले सेमीफाइनलमा स्थान पक्का गर्यो।

पबी स्कुल मैदानमा सम्पन्न खेलमा कन्चनरुप राइनोजले पाएको ३८ रनको सामान्य लक्ष्य ८. ४ ओभरमा ६ विकेट गुमाएर भेटायो।

राइनोजको लागि महानन्द यादवले सर्वाधिक १४ रन योगदान दिए जुन क्रममा १२ बलमा २ चौका र १ छक्का प्रहार गरे। राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन तथा रिराज सहाले ५ रन योगदान दिए।

हिरोजको बलिंगमा सन्जन बैठाले सर्वाधिक ३ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन। २. ४ ओभरमा उनले २२ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा सन्जिब मण्डलले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको हनुमाननगर हिरोजले १०. ३ ओभरमा ३७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

राइनोजका बलर सम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिंदै हिरोजको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र खर्चिए। यस्तै मुकेश सिंहले २ विकेट लिए।

आजको दोश्रो खेलमा खडक वारीयर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो। १२२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा भेटायो।

वारियर्सको जितमा सन्तोष कार्कीले अविजित अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै ओपनर फिर्दोश अन्सारीले अविजित ४३ रन बनाए जुन क्रममा ३४ बलमा ६ चौका प्रहार गरे।

तेश्रो विकेटको लागि कार्की र अन्सारीले अविजित ९२ रनको साझेदारी गर्दै जितसम्म डोर्याए।

वीरपुरको बलिंगमा राहुल विकले १ मात्र विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो।

वीरपुरको आगी भिम यादवले सर्वाधिक २५ रन योगदान दिए। यस्तै तृत राज दासले २२, राहुल विकले १५ तथा अमित यादवले १४ रन बनाए।

खडक वारियर्सका बलर फिर्दोश अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २ विकेट लिए। पप्पु यादव ( बि ) र पप्पु यादव ( ए ) ले समान १ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका फिर्दोश अन्सारी प्लेयर अफ द म्याच भए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy