चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ गते देखि

२०७८ फाल्गुन २६, बिहीबार १७:१८

मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करण चैत ७ गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ।

गत महिना संचालन हुनु पर्ने भएता पनि राष्ट्रिय टिमको खेल तालिकालाई मध्यनजर गरेर मिति सारिएको थियो। तर अब भने उपलब्ध राष्ट्रिय खेलाडीहरुलाई समाबेश गरेर प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी गराएका छन्। लिगको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ।

पाँच फ़्रेन्चाइज् टिमहरुको सहभागिता रहने प्रतियोगिताको खेलाडी चयन अक्सनमार्फत गरिंदै आएको छ। यो संस्करणको लागि पनि अक्सन चैत २ गते संचालन हुनेछ जसको लागि फाल्गुन ३० गतेसम्म खेलाडी दर्ता हुने अन्तिम मिति राखिएको छ। खेलाडीहरुले यो लिंकमा क्लिक गरेर फर्म भर्दै अथवा खल्ती यापबाट नाम दर्ता गर्न सक्नेछन्।

हालसम्म देशभरबाट १४५ जना खेलाडीले अक्सनको लागि नाम दर्ता गरिसकेका छन्। सहभागी फ़्रेन्चाइजले आफ्नो टिममा ५ जना जिल्ला बाहिरको खेलाडी राख्न पाउने नियम छ जसमध्ये निम्नतम ४ जना खेलाडीलाई अन्तिम एघारमा समाबेश गर्नु पर्नेछ। जिल्ला बाहिरको खेलाडी सहित फ़्रेन्चाइजले अक्सनमार्फत कूल १६ जना खेलाडीको टिम बनाउन पाउनेछ। सबै टिमको मार्की खेलाडीको समेत घोषणा गरिनेछ।

लिगको गत सिजन उपाधि विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जितेको थियो। वारियर्स टिममा राष्ट्रिय क्रिकेटर अनिल शाह र पवन सर्राफ पनि सहभागी थिए। यस्तै अन्य टिमहरुमा दिपेन्द्र ऐरी, कुशल भुर्तेल, बसन्त रेग्मी, आसिफ शेख, सिद्धान्त लोहनी, मेहबुब आलम, लोकेश बम, सुनिल धमला, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु सहभागी थिए। यो सिजन पनि राष्ट्रिय क्रिकेटरहरुले अक्सनको लागि नाम दर्ता गराइसकेका छन्।

डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्स सहित रुपनी राईडर्स, तिलाठी कोईलाडी जायन्ट्स, बोदे बर्साईन थन्डर्स र टिभीएस किंग्स राजविराज लिगमा सहभागी टिमहरु हुन्। एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।

प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy