मेहबुब कप्तानीको रुपनिको दोश्रो जित, धमला चम्किदा तिलाठी विजयी

सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिन सम्पन्न २ खेलमा तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्सले जित दर्ता गरेका छन्।

दिनको दोश्रो खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गर्यो। दोश्रो जित सहित रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। अंकतालिका 

पहिले ब्याटिंग गर्दै रुपनीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो।

डाक्नेश्वरीको लागि प्रेम तामांगले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाए। रुपनीको लागि बलिंगमा प्रदिप पासवानले सर्वाधिक ३ विकेट लिए भने अनोज यादब र सैदुल्लाह अन्सारीले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो।

रुपनीको लागि ओपनिंग ब्याटिंग गरेका सोनु अन्सारीले आक्रामक इनिंग खेल्दै मात्र २३ बलमा ४ छक्का र ४ चौका मदतले सर्वाधिक ४४ रन बनाए। यस्तै अनोज यादबले पनि इनिंगको अन्तिममा ५ छक्का प्रहार गर्दै २३ बलमा ३६ रन बनाए। कप्तान मेहबुब आलमले १६ तथा हसिम अन्सारीले १५ रन बनाए।

डाक्नेश्वरी ड्रागनको लागि बलिंगमा अफ-स्पिनर दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। यस्तै पुष्प थापा र प्रेम तामांगले २/२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए।  स्कोरकार्ड 

सुनिल धमलाले आक्रामक इनिंग खेल्दा तिलाठी कोइलाडीको सहज जित

दिनको पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सलाई ८ विकेटले सहजै पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। प्रतियोगितामा खडक वारियर्सको यो दोश्रो हार हो।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छदै पुरा गर्यो।

Sunil Dhamala

तिलाठी कोइलाडीको जितमा ओपनिंग ब्याट्सम्यान सुनिल धमलाले आक्रामक ब्याटिंग गर्दै अविजित ८४ रन बनाए। राष्ट्रिय टिमको लागि समेत खेलीसकेका धमलाले ५५ बलमा १० चौका र २ छक्का प्रहार गरे। यस्तै सुरज पटेलले ३४ रन बनाए। धमला र पटेलले तेश्रो विकेटको लागि ८७ रनको अविजित साझेदारी गरेका थिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो।

वारियर्सको लागि कप्तान राजेश पुलामीले सर्वाधिक ५० रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे। यस्तै अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए।

एक समय ५४/६ को कमजोर अवस्थामा पुगेको वारियर्सलाई पुलामी र अमितले सातौँ विकेटको लागि ७६ रनको साझेदारी गर्दै उकासेका थिए।

Rajesh Pulami

तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २/२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १/१ विकेट लिए। धमलाले ४ ओभरमा मात्र १३ रन खर्चिए। सुनिल धमला खेलको प्लेयर अफ द म्याच चुनिए। स्कोरकार्ड , अंकतालिका 

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ। लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy