सप्तरी प्रिमियर लिग : शंकर चम्किंदा राजविराज द किंग फाइनलमा 

२०७८ चैत्र १४, सोमबार १७:१५

सप्तरीमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न दुईवटा खेलमा राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्।

जितसंगै राजविराज द किंगले फाइनलमा स्थान पक्का गरेको छ। फाइनल पुग्ने दोश्रो टिम मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेलले गर्नेछ। उक्त खेलमा तिलाठी कोइलाडी विजयी भए फाइनल प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा अंकतालिकाको हाल दोश्रो स्थानमा रहेको टिभीएस किंग्स राजविराज फाइनल पुग्नेछ। हारपछि बजाज खडक वारियर्स र राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

सोमबार सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गर्यो। जायन्ट्सले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन मात्र बनायो।

टिभीएस किंग्स राजविराजका ओपनर रोहन विकले आक्रामक ब्याटिंग गर्दै ८२ रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा जित्न पर्याप्त रहेन। यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका विकले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर शेख इमरानले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान महबुब आलमले ४ रन मात्र बनाउन सके।

प्लेयर अफ द म्याच समेत चुनिएका तिलाठी कोइलाडीका सुनिल धमलाले ४ विकेट लिए। योगेन्द्र सिंह कार्कीले ३ तथा रोहन विश्वकर्माले २ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको तिलाठी कोइलाडीले २० ओभरमा ४ विकेट क्षेतीमा १९१ रन बनायो।

तिलाठी कोइलाडीको ब्याटिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सुनिल धमलाले ७२ रन बनाए जुन क्रममा उनले ४२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै रोहन विश्वकर्माले अविजित ४० रन, योगेन्द्र सिंह कार्कीले ३० रन तथा भुवन कार्कीले २४ रन बनाए। टिभीएस किंग्स राजविराजका बलर महबुब आंले २ तथा बिशाल सुश्लिंग र शेख इमरानले १/१ विकेट लिए।

सोमबार सम्पन्न दोश्रो खेलमा राजविराज द किंगले डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। वारियर्सले दिएको १२३ रनको लक्ष्य द किंगले १६.१ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।

राजविराज द किंगको ब्याटिंगमा ओपनर शंकर रानाले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच चुनिएका उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। सन्तोष कार्कीले १९ रन बनाए। वारियर्सका बलर सर्वन यादव, अरनिको यादव, मुकुन्द यादव र सिद्धान्त लोहनीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो।

वारियर्सको ब्याटिंगमा राज वर्माले सर्वाधिक २५ रोबिन सिंहले २० तथा सर्वन यादवले १९ रन योगदान दिए। राजविराज द किंगका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, अनिल यादव र फिर्दोश अन्सारीले २/२ विकेट तथा रोहित कुमार सिंह र नन्दन यादवले १/१ विकेट लिए।

प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा मंगलबार राजविराज ब्रदर्श र तिलाठी कोइलाडी जायन्ट्स बीच प्रतिस्पर्धा हुनेछ।

पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्। टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy