छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधिको लागि आज छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल पब्लिक विन्देश्वरी मैदानमा ११ बजे सुरु हुनेछ।
शनिवार सम्पन्न पहिलो क्वालीफायरमा तिरहुटले छिन्नमस्ता लायन्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। आइतबार सम्पन्न दोश्रो क्वालीफायरमा छिन्नमस्ताले कन्चनरुप राइनोजलाई पराजित गर्दै फाइनलमा तिरहुटसंगको भेट पक्का गरेको हो।
दुई टिम बीच लिग चरणमा प्रतिस्पर्धा हुन पाएको थिए। वर्षाको कारण खेल नहुँदा दुवै टिमले अंक बाँडेका थिए।
छिन्नमस्ता लायन्स लिग चरणमा अपराजित रहँदै अंकतालिकाको शिर्ष स्थानमा रहेर फाइनल पुगेको हो। टिममा राष्ट्रिय क्रिकेटर भिम शार्की, नेपाल ‘ए’ को प्रतिनिधित्व गरिसकेका मयन यादव, यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका बिशाल पटेल र रोहन बिक, फिर्दोश अन्सारी जस्ता अनुभवी क्रिकेटरहरु छन्।
छिन्नमस्ताको ब्याटिंगतर्फ मयन यादवले ६ खेलमा एक शतक मद्दतले २४२ रन बनाएका छन् जो शिर्ष रनकर्ताको सुचीमा दोश्रो स्थानमा समेत छन्। यस्तै दायाँ हाते युवा ब्याट्सम्यान सुमित नेवारले ६ खेलमा १४९ तथा भिम शार्कीले ६ खेलमा १३० रन बनाएका छन्। बलिंगतर्फ देब्रे हाते फास्ट बलर बिशाल पटेल ६ खेलमा १३ विकेट लिंदै प्रतियोगिताकै शिर्ष विकेटकर्ता हुन्। यस्तै अर्का युवा फास्ट बलर मोहम्मद सोहेलले ६ खेलमा १२ विकेट तथा फिर्दोश अन्सारीले ९ विकेट लिएका छन्। गुनानंद रोयको नाममा ७ विकेट छ।
अर्कोतर्फ तिरहुट टाइगर्समा राष्ट्रिय क्रिकेटर बसिर अहमद, चर्चित यु-१९ राष्ट्रिय क्रिकेटर दिपेश कंडेल, नेपाल ए को लागि खेलीसकेका रुपेश सिंह, यु-१९ राष्ट्रिय क्रिकेटर शंकर राना, यु-१६ राष्ट्रिय क्रिकेटर अमित यादव जस्ता खेलाडी छन्।
उच्च लयमा रहेका बसिर अहमदले ब्याटिंगतर्फ ५ खेलमा १८१ रन बनाउदै उच्च रनकर्ताको सुचीमा तेश्रो स्थानमा छन् भने बलिंगतर्फ पनि ८ विकेट लिईसकेका छन्। यस्तै राम्रो लयमा रहेका अमित यादवले ५ खेलमा १६८ रन बनाइसकेका छन्। ब्याटिंगमा १८४ को स्ट्राइक रेटले ९२ रन बनाएका रुपेश सिंहले बलिंगमा ७ विकेट लिएका छन्। उच्च लयमा रहेका दिपेश कंडेलले ५ खेलमा ११ विकेट लिईसकेका छन्। यस्तै कप्तान अनिल यादव पनि ५ खेलमा १० विकेट लिंदै लयमा छन्।
दुवै टिममा स्टार तथा लयमा रहेका खेलाडीहरुको बाहुल्यता देखिंदा फाइनल खेल रोचक हुने अनुमान गरिएको छ। खेलको प्रत्यक्ष प्रशारण कास्टमान्डप टेलिभिजनमा हेर्न सकिनेछ।
सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको विजेताल ३ लाख तथा उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ।
https://youtu.be/PEAcPPTGmss?si=heU1tJHyLYX0hKRI
https://www.youtube.com/watch?v=O_FJykcBnok