गल्याङलाई स्याङ्जा क्रिकेट लिग उपाधि

दोस्रो पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।

पुतलीबजार नगरपालिका– १३, मातृभूमि खेलमैदानमा यहि माघ ३० देखी सुरु भएको प्रतियोगितामा आँधीखोला गाउँपालिकालाई २४१ रनको फराकिलो अन्तरले पराजित गर्दै गल्याङले उपाधि उचालेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको गल्याङले निर्धारित ४० ओभरमा आठ विकेट गुमाएर ३१८ रन जोडेको थियो । गल्याङका लागि १०९ बलको सामना गर्नु भएका दिपेशले आठ चौका र तीन छक्काको मद्दतमा १०१ रन जोडे ।

३१९ रनको विशाल लक्ष्य पछ्याएको आँधीखोलाले १६.२ ओभरमा सबै विकेट गुमाउदै ७७ रनमा सिमित भएको थियो । आँधीखोलालाई सस्तैमा समेट्न गल्याङका कप्तान सन्दीप खत्रीले चार विकेट, तुलसीराम भण्डारीले तीन र संयोग बस्यालले दुई विकेट लिए ।

आँधीखोलाका लागि कप्तान इश्वर क्षेत्रीले ४४ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अङ्क बनाउन नसक्दा सस्तैमा समेटिएको थियो । उपाधि जितेको गल्याङ नगरपालिकाले ट्रफी, मेडल र प्रमाण–पत्रसहित ४० हजार रुपियाँको किटसेट प्राप्त गरेको थियो ।

उपविजेतमा चित्त बुझाएको आँधीखोलाले गाउँपालिकाले ट्रफी, मेडल र प्रमाण–पत्रसहित २० हजार रुपियाँको किट पाएको थियो ।

प्रतियोगितामा बेस्ट बलरमा चापाकोटका करण पंगेनी, बेस्ट ब्याटरमा आँधीखोलाका ईश्वर क्षेत्री, बेस्ट किपरमा आँधीखो पुर्ण बहादुर जिटी, बेस्ट फिल्डर चापाकोटका विशाल कोइराला, इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट भिरकोटका साइमन खाँड, प्लेयर अफ दी टुर्नामेन्टमा आँधीखोलाका ईश्वर क्षेत्री भए ।

जिल्लाका स्थानीय प्रतिभावान खेलाडीको पहिचान, स्तर वृद्धि तथा खेलप्रति रुचि बढाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy