सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजविराजमा जारि पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उपाधिको लागि आज बजाज खडक वारियर्स र कन्चनरुप राइनोज प्रतिस्पर्धा गर्दैछन्। खेल विहान १० बजे पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा हुनेछ।
राष्ट्रिय क्रिकेटर समेत रहेका विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले ६ टिम सहभागी लिग अंक तालिकाको शिर्ष स्थानमा रहँदै फाइनल यात्रा गरेको हो। ८ अंकमा लिग समाप्त गर्ने एक मात्र टिम वारियर्सले लगातार ४ खेल जित्दा लिग चरणको अन्तिम खेलमा कन्चनरुपसंग हार बेहोरेको थियो। अर्कोतर्फ कन्चनरुपले लिग चरणको पहिलो खेल जितेता पनि त्यसपछिको दुई खेलमा हार पछि पुनः लगातार २ खेल जित्दै फाइनलमा स्थान बनाएको हो। जित्नै पर्ने अन्तिम खेलमा उसले बजाज खडक वारियर्सलाई पराजित गर्दै उसैसंग उपाधि भिडन्त पक्का गरेको हो।

बजाज खडक वारियर्सलाई लिग चरणको भेटमा कन्चनरुप राइनोजले ३ विकेटले पराजित गर्यो। उत्कृस्ट लयमा रहेको वारियर्सलाई ६२ रनमै अलआउट गरेको उसले लक्ष्य पछ्याउन ७ विकेट गुमाउन पुग्यो। राष्ट्रिय क्रिकेटर रहीसकेका तिब्र गति अलराउण्डर राशिद खानले बलिंगमा ४ तथा ब्याटिंगमा अविजित ३२ रन बनाउदै जितमा अहम योगदान दिए।

बजाज खडक वारियर्सको फाइनल यात्रामा सन्दिप रजाली, बिशाल सुश्लिंग, कप्तान विवेक यादव, दिनेश अधिकारी, अनिल यादव, अनिल खरेल जस्ता खेलाडीको उत्कृस्ट योगदान छ। रजाली प्रतियोगिताकै तेश्रो सर्वाधिक रनकर्ता हुन् जसले ५ खेलमा १७६ रन बनाएका छन् जुन क्रममा उनको स्ट्राइक रेट १६१.४६ रहेको छ। अर्कोतर्फ फास्ट बलर अधिकारी दोश्रो सर्वाधिक विकेटकर्ता हुन् जसले ८.५७ को स्ट्राइक रेटमा बलिंग गर्दै १ पटक ५ तथा १ पटक ४ विकेटको प्रदर्शन गरेका छन्। कप्तान यादवले अलराउण्ड योगदान दिने क्रममा १५७.१४ को स्ट्राइक रेटमा ८८ रन बनाउनुको साथै ८ विकेट पनि लिएका छन्।
अन्डर-१९ राष्ट्रिय क्रिकेटर अविनाश कर्ण कप्तान रहेको कन्चनरुप राइनोजको फाइनल यात्रामा राशिद खान, अमित यादव, नारायण जोशी, पप्पु यादव जस्ता खेलाडीको उत्कृस्ट योगदान छ। खान प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता हुन् जुन क्रममा उनले ५ खेलमा ६,८६ को स्ट्राइक रेटमा १५ विकेट लिएका छन् र दुई खेलमा ४ विकेटको प्रदर्शन गरेका छन्। यस्तै चौंथो सर्वाधिक रनकर्ता अनिल यादवले १७६.०८ को औशतमा १६२ रन बनाएका छन्। अमित यादवले १०.५ को स्ट्राइक रेटमा ८ विकेट लिएका छन्।

दुई पटक सप्तरी प्रिमियर लिग जितीसकेको बजाज खडक वारियर्सले लिग चरणको अन्तिम खेलमा नवप्रवेशी टिम कन्चनरुप राइनोजसंग हार बेहोरेता पनि त्यस अघिको खेलहरुमा नियमित राम्रो प्रदर्शन गरेको थियो। अर्कोतर्फ कन्चनरुपले फाइनल अघि लगातार दुई खेल जित्दै उत्कृस्ट लय देखाएको छ। महत्वपूर्ण खेल अघि कन्चनरुपले पाएको जितको लयले खडक वारियर्सलाई चिन्तित बनाएको छ भने म्याच विनरहरुको टिम वारियर्ससंग लगातार दोश्रो खेल जित्न राइनोजलाई सहज भने देखिदैन। त्यसैले मधेश प्रदेशकै प्रतिष्ठित प्रतियोगिताको उपाधि भिडन्त रोचक हुने अनुमान गरिएको छ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ, उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृस्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्नेछ।
टिम बजाज खडक वारियर्स : बिबेक यादव ( कप्तान ) , अनिल यादव, दिनेश अधिकारी, अनिल खरेल, सन्दिप रजाली, निरज यादव, राज वर्मा, शाहील पटेल ( विकेटकिपर ) , कर्ण बिक, बब्बु गोठीया, चन्दन राम, गोमानन्द अमात्य, प्रिन्स यादव
टिम कन्चनरुप राइनोज : दिलिप नाथ, नारायण जोशी, राशिद खान, अविनाश कर्ण ( कप्तान ) , अमित यादव, सुमित श्रेष्ठ, चित्र बिस्ट, राकेश कामत, अभिषेक गौतम, पप्पु यादव, भिम यादव, महानन्द यादव, उमेश चौधरी, मुकेश सिंह र मदन चौधरी
