युएईमा जारि १३ औं आईपीएलमा कोलकाता नाइट राइडर्सले पहिलो जित दर्ता गर्ने क्रममा सनराइजर्स हैदरावादलाई ७ विकेटले सहजै पराजित गरेको छ। पहिलो खेलमा कोलकाता मुम्बईसंग ४९ रनले पराजित भएको थियो जसपछि टिमले शानदार पुनरागमन गरेको हो।
शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा हैदरावादले दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा कोलकाताका ओपनर सुनिल नारायण दोश्रो ओभरमा खाता नखोली खलिल एहमदबाट क्याच आउट भए। त्यसपछि ओपनर शुबमन गिलले दोश्रो विकेटको लागि नितिश रानासंग ३७ रनको साझेदारी गरे। १३ बलमा ६ चौका प्रहार गर्दै २६ रन बनाएका रानालाई नटराजनले पाँचौ ओभरमा क्याच आउट गरे। सातौँ ओभरमा कप्तान दिनेश कार्तिक खाता नखोली राशिद खानबाट एलबिडब्लु आउट भए।
५३/३ को अवस्थाबाट ओपनर गिलले ओएन मोर्गनसंग साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले चौथो विकेटको लागि अविजित ९२ रनको साझेदारी गरे। गिलले अविजित ७० रन बनाए जुन क्रममा ६२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। मोर्गनले २९ बलमा ३ चौका र २ छक्का मद्दतले अविजित ४२ रन बनाए।
हैदरावादको बलिंगमा खलिल एहमद ( ३-०-२८-१ ) , टि नटराजन ( ३-०-२७-१ ) र राशिद खान ( ४०-२५-१ ) ले समान १ विकेट लिए। भुवनेश्वर कुमारले ३ ओभरमा २९ रन खर्चेर विकेटविहिन रहे। मोहम्मद नाबी ( ४-०-२३-० ) र अभिषेक शर्मा ( १-०-११-० ) पनि विकेटविहिन रहे।
कोलकाताको अनुशासित बलिंग
यस अघि टस जितेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो।
सुस्त सुरुवात गरेको हैदरावादका ओपनर जोनी बेयरस्टो १० बलमा ५ रन बनाएर चौथो ओभरमा प्याट कमिन्सबाट बोल्ड भए। त्यसपछि ३० बलमा ३६ रन ( २ चौका र १ छक्का ) बनाएर कप्तान वार्नर १० औं ओभरमा वरुण चक्रवर्तीबाट ‘कट एण्ड बोल्ड’ आउट भए।
५९/२ को अवस्थाबाट तेश्रो विकेटको लागि मनिष पाण्डे र रिद्दिमान शाहले ६२ रनको साझेदारी गरे। १८ औं ओभरमा आन्द्रे रसेलले मनिष पाण्डेलाई ‘कट एण्ड बोल्ड’ आउट गरे। पाण्डेले ३९ बलमा ३ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। अन्तिम ओभरमा रिद्दिमान शाह रन आउट भए जसले ३० बलमा ३१ रन ( १ चौका र १ छक्का ) बनाए। अन्तिममा मोहम्माब नाबीले ८ बलमा २ चौका मद्दतले अविजित ११ रन बनाए।
पावरप्लेको ६ ओभरमा हैदरावादले ४० रन तथा अन्तिम ५ ओभरमा ४३ रन मात्र बनाउन सक्यो। हैदरावादले ७ जना बलरहरु प्रयोग गरेको थियो।
कोलकाताको बलिंगमा प्याट कमिन्स ( ४-०-१९-१) , वरुण चक्रवर्ती ( ४-०-२५-१ ) र आन्द्रे रसेलले ( २-०-१६-१ ) समान १ विकेट लिए। सुनिल नारायण ( ४-०-३१-० ) , शिभम माभी ( २-०-१५-० ) , कुलदिप यादव ( २-०-१५-० ) र कमलेश नगरकोटी ( २-०-१७-० ) विकेटविहिन रहे।
जितपछि अंकतालिकामा कोलकाता २ खेलमा १ जित र १ हार पछि पाँचौ स्थानमा उक्लेको छ। हैदरावाद भने लगातार दोश्रो हार पछि अंकविहिन १ मात्र टिमको रुपमा पुछारमा रहेको छ। २ खेलमा जित सहित दिल्ली क्यापिटल्स शिर्षस्थानमा रहेको छ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल सेप्टेम्बर २९ तारिख मंगलबार दिल्ली क्यापिटल्ससंग खेल्नेछ। कोलकाताले सेप्टेम्बर ३० तारिख बुधबार राजस्थान रोयल्ससंग खेल्नेछ।
लिग अन्तर्गत भोलि आइतबार राजस्थान रोयल्स र किंग्स-११ पन्जाबले प्रतिस्पर्धा गर्नेछन्।
४ खेलाडी जसले कोलकाताको पहिलो जितमा अहम योगदान दिए
चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे
जितपछि दिल्ली कप्तानले यी खेलाडीहरुलाई दिए श्रेय, धोनीले भने-“खराब खेल रह्यो”
किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?