रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गर्दै सनराइजर्स हैदरावादले युएईमा जारि आईपीएलमा आफ्नो तेश्रो जित दर्ता गरेको छ।
अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याएको बैंगलोरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा १३७ रन मात्र बनाउन सक्यो।
जितको लागि अन्तिम २ ओभरमा १८ रन मात्र आवस्यक हुँदा १९ औं ओभर बलिंग गरेका जेसन होल्डरले मात्र ४ रन खर्चेर शाहबाज एहमदको विकेट लिएपछि हैदरावाद खेलमा फर्केको थियो। अन्तिम ओभरमा १३ रन आवस्यक रह्यो। भुवनेश्वर कुमारले अन्तिम ओभरको पहिलो ३ बलमा मात्र १ रन खर्चे। त्यसपछि चौंथो बलमा एबि डी भिल्लीयर्सले छक्का प्रहार गरे। जित्न २ बलमा ६ रन बाँकी रह्यो जुन बेला डी भिल्लीयर्सले पाँचौ बलमा रन बनाउन सकेनन् भने अन्तिम बलमा १ रन मात्र लिन सक्दा खेल हैदरावादले आफ्नो पक्षमा पार्यो।
बैंगलोरको ब्याटिंगमा डेभदत्त पडीक्कलले सर्वाधिक ४१ रन, ग्लेन म्याक्सवेलले ४० रन बनाए भने एबि डी भिल्लीयर्सले १९, शाहबाज एहमदले १४ र श्रीकर भारतले १२ रन बनाए। कप्तान बिराट कोहलीले मात्र ५ रन बनाए। सुरुवाती ३ विकेट ३८ रनमा गुमाएको अवस्थामा पडीक्कल र म्याक्सवेलले ५४ रनको साझेदारी गरेका थिए।
हैदरावादको बलिंगमा भुवनेश्वर कुमार ( ४-०-२५-१ ) , जेसन होल्डर ( ४-०-२७-१ ) , सिद्धार्थ कौल ( ४-१-२४-१ ) , उर्मान मलिक ( ४-०-२१-१ ) र राशिद खानले ( ४-०-३९-१ ) समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ७ विकेट क्षेतीमा १४१ रन बनाएको थियो। उसको लागि ओपनर जेसन रोयले सर्वाधिक ४४ तथा कप्तान केन विलियमसनले ३१ रन योगदान दिए। जेसन होल्डरले १६, प्रियमगर्गले १५ रन बनाए। बैंगलोरका बलर हर्षल पटेलले ३ विकेट ( ४-०-३३-३ ) लिए भने ड्यानियल क्रिस्चियनले २ विकेट ( ३-०-१४-२ ) तथा जर्ज गार्टन ( २-०-२९-१ ) र युजभेन्द्र चाहलले ( ४-०-२७-१ ) समान १ विकेट लिए।
लिगमा तेश्रो जितपछि पनि हैदरावाद अंकतालिकामा १३ खेलमा ६ अंक सहित पुछारमा रहेको छ। बैंगलोर पनि १३ खेलमा ८ जित र ५ हार पछि १६ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ। हैदरावादको प्लेअफ सम्भावना सकीसकेको छ भने बंगलोर प्लेअफ प्रवेश गरिसकेको छ।

