श्रीलंकाले जित्यो भारत बिरुद्ध टि-२० सिरिज, टुट्यो भारतको अपराजित यात्रा

२०७८ श्रावण १४, बिहीबार २३:२६

तेश्रो तथा निर्णायक खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै घरेलु टोलि श्रीलंकाले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ। आर प्रेमदाशा स्टेडियममा भारतले दिएको ८२ रनको लक्ष्य श्रीलंकाले १४.३ ओभरमा मात्र ३ विकेट क्षेतीमा भेटायो।

श्रीलंकाले यस अघि खेलिएको पाँच वटा सिरिज हार बेहोरेको थियो जुन शिलशिलामा पूर्णविराम लगाएको छ। जितसंगै श्रीलंकाले भारतको टि-२० अन्तर्राष्ट्रिय सिरिज जितको शिलशिला पनि तोडेको छ। सन् २०१९ फेब्रुअरीमा भारत अस्ट्रेलियासंग पराजित भएपछि लगातार ८ वटा टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको थियो। लगातार नवौं सिरिज जित्ने चाहना भारतको पुरा भएन।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकन ओपनर अभिस्का फर्नान्डो र मिनोद भानुकाले २३ रनको साझेदारी गरे। त्यस पछि राहुल चाहर ३ विकेट लिंदै भारतलाई सम्भावना देखाए। चाहरले १२ रन बनाएका फर्नान्डोलाई छैठौं ओभरमा कट एण्ड बोल्ड गरे भने आठौँ ओभरमा १८ रन बनाएका भानुकालाई एलबिडब्लु पारे। १२ औं ओभरमा ६ रन सदिरा समरविक्रमालाई चाहरले बोल्ड गरे।

५६ रनमा ३ विकेट गुमाएपछि धनन्जय डी सिल्भा र वानिन्दु हसरंगाले टिमलाई जितसम्म पुर्याए। दुवैले अविजित २६ रनको साझेदारी गरे। डी सिल्भाले अविजित २३ रन तथा हसरंगाले अविजित १४ रन बनाए।

भारतको बलिंगमा लेग स्पिनर राहुल चाहरले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्र बीच खेलिएको खेलहरु मध्ये पुरै २० ओभर ब्याटिंग गर्दा बनेको यो दोश्रो कम योगफल हो। वेस्टइन्डिजले जिम्बाब्वे बिरुद्ध सन् २०१० मा २० ओभरमा ७ विकेट क्षेतीमा ७९ रन बनाएको थियो।

ओपनर शिखर धवन खाता नखोली पहिलो ओभरमा दुश्मन्था चमिराबाट क्याच आउट भए पछि दोश्रो विकेटको लागि अर्का ओपनर रुतुराज गायकवाडले देभदत्त पडीक्कलसंग १८ रनको साझेदारी गरे। ९ रन बनाएका पडीक्कललाई तेश्रो ओभरको अन्तिम बलमा रमेश मेन्डिसले एलबिडब्लु गरे। लगत्तै ओभरमा खाता नखोल्दै संजु स्यामसन र १४ रन बनएका रुतुराज गायकवाडलाई वानिन्दु हसरंगाले एलबिडब्लु धरापमा पारे। २५ रनको योगफलमा भारतले ४ विकेट गुमाउन पुग्यो। नितिश राना पनि ६ रन मात्र बनाएर दाशुन शनाकाबाट कट एण्ड बोल्ड भए।

छैठौं विकेटको लागि भुवनेश्वर कुमारले कुलदिप यादवसंग १९ रन जोडे। ३२ बलमा १६ रन बनाएका भुवनेश्वरलाई हसरंगाले क्याच आउट गराए। त्यसपछि पनि भारतको विकेट जाने क्रम रोकिएन राहुल चाहर ५ तथा वरुन चक्रवर्ती खाता नखोली आउट भए।

कुलदिप यादवले एक किनार सम्हाल्दै ब्याटिंग गरे र चेतन सकरियासंग नवौं विकेटको लागि १८ रनको साझेदारी गरे। यादवले २८ बलमा अविजित २३ रन बनाए भने सकरियाले अविजित ५ रन बनाए।

भारतीय ब्याट्सम्यानहरुले इनिंग्सको क्रममा कुनै पनि छक्का प्रहार गर्न सकेनन् जुन पुरै २० ओभर बय्टिंग गर्दा भारतको टि-२० अन्तर्राष्ट्रिय इतिहासमै पहिलो पटक हो।

श्रीलंकाको बलिंगमा लेग स्पिनर वानिन्दु हसरंगाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ९ रन खर्चिए। कप्तान दासुन शनाकाले २ ( ४-०-२०-२ ) तथा रमेश मेन्डिस ( २-०-१३-१ ) र दुश्मन्था चमिरा (४-०-१६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल भारतले ३८ रनले जितेको थियो भने दोस्रो खेल श्रीलंकाले ४ विकेटले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy