- विकेटनेपाल – फाल्गुन १६, बुधवार
न्युजील्याण्ड बिरुद्दको दोस्रो एक दिवसीय खेलमा इंग्ल्याण्डले ६ विकेटको सानदार जित हात परेको छ। जितसंगै ५ खेलको शृंखलामा १-१ को बराबरी भएको छ ।
इंग्ल्याण्डलाई जित दिलाउन अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दै दोस्रो खेल खेलिरहेका बेन स्टोक्सले अल-राउण्ड प्रदर्शन गरे। ब्याटिंग तर्फ ६३ रन जोडेका स्टोक्सले न्युजील्याण्डको २ विकेट चट्काउंदा थप २ रन आउट समेत गरेका थिए।

पहिले ब्याटिंग गर्दै न्युजील्याण्डले दिएको २२४ रनको सामन्य लक्ष्यको पिछा गरेको इंग्ल्याण्डले मात्र ४ विकेट गुमाएर जित दर्ता गर्यो। इंग्ल्याण्डको इनिंगमा बेन स्टोक्सले अविजित ६३ रनको योगदान गरे। ७४ बल खेलेका स्टोक्सले ७ चौका र १ छक्का प्रहार गरे।
यस्तै कप्तान ओएन् मोर्गनले ६३ बलमा ६ चौका र ३ छक्का सहित ६२ रनको व्यक्तिगत स्कोर जोडे। कुनै समय ८६/३ को स्थितिमा रहेको इंग्ल्याण्डलाई उकास्ने क्रममा स्टोक्स र मोर्गनले चौथो विकेटको लागि ८८ रनको साझेदारी गर्दै खेललाई इंग्ल्याण्डको पक्षमा ल्याए।
न्युजील्याण्डको बलिंग तर्फ ट्रेन्ट बोल्टले २ विकेट चट्काएपनि घरेलु टोलिलाई जित दिलाउन विफल रहे।
बे ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टोलीले खराब प्रदर्शन गर्दै ४९.४ ओभरमा मात्र २२३ रन बनाउदा सबै विकेट गुमाएको थियो। उसका लागि ओपनर मात्रिन गुप्टिल ले ५० रन (८७ बल, ७ चौका) तथा तल्लो क्रममा आएका मिचेल स्यांटनरले आफ्नो करियरको पहिलो अर्धशतक प्रहार गर्ने क्रममा अविजित ६३ रन (५२ बल, ६ चौका, १ छक्का) को पारि खेलेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेका थिएनन्।
कुनै समय १४७/८ को अवस्थामा रहेको पारि उकास्न स्यांटनरले नबौं विकेटको लागि लुक फर्गीउसनसँग मिलेर ६९ रनको साझेदारी गरेका थिए। फर्गीउसनले १९ रन बनाए भने कोलिन डी ग्राण्डहोमले पनि ३८ रनको पारि खेलेका थिए।
इंग्ल्याण्डको लागि मोईन अलिले ३३ रन खर्चेर २ विकेट लिएकाथिए भने बेन स्टोक्स र क्रिस वोक्सले पनि समान २/२ विकेट हात पारेका थिए। ४ खेलाडी रन आउटको सिकार भएका थिए।
यसअघि भएको पहिलो एकदिवसीय क्रिकेटमा रोस टेलरले आफ्नो करियरको १८ औं शतक प्रहार गरेपछि न्युजिल्याण्डले ३ विकेटको जित हात पारेको थियो । जारि सिरिज अन्तर्गत ५ एकदिवसीय र २ टेस्ट क्रिकेट खेलिने छ ।
फोटोहरु : (@ICC)