U19 National : निर्मलको ५ विकेटमा लुम्बिनीको चौंथो जित, गण्डकी जितमा सुबासको ६ विकेट

२०७९ मंसिर १५, बिहीबार १७:११

अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्।

प्रदेश नम्बर-१ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ । लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६.२ ओभरमा ६९ रनमा अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सुभान गहतराजले सर्वाधिक २२ रन बनाए ।

उनले २२ बल खेल्दै ३ चौका प्रहार गरे । तेस्रो क्रमका ब्याटर इस्टेन रिजालले ६८ बल खेल्दै १९ रन बनाए । त्यसबाहेकका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा प्रदेश १ सस्तैमा आउट भएको हो । लुम्बिनीका लागि निर्मल गुरुङले ४.२ ओभर बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए । अर्का बलर दुर्गेश गुप्ताले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

प्रदेश १ ले दिएको ७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक १९ रन बनाए । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठीले १७ रन बनाए । प्रज्वल ओलीले ११ बल खेल्दै २ चौकाको साहयतामा १५ रन जोडे । सुनिल भण्डारी र विशाल भुसाल ६ र ८ रनमा अविजित रहे ।

प्रदेश-१ का लागि दिपेश कँडेलले छ ओभर बलिङ गर्दै १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । विपिन महतोले १ विकेट लिए ।

गण्डकीद्वारा कर्णाली पराजित 

मुलपानी मैदानमा गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गर्यो। गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णालीले ३० ओभरमा १२५ रनमा सबै विकेट गुमायो।

कर्णालीका सुवास ऐरले सर्वाधिक ३२ रन, कप्तान बिपिन रावलले १९ तथा मनिस थापाले १८ रन बनाए।

गण्डकीका अफ स्पिनर सुबास भण्डारी एक्लैले ६ विकेट लिए। १० ओभर बलिंग गरेका उनले ३ मेडन ओभर गर्दै २७ रन खर्चिए। सिब्रिन श्रेष्ठले ३ तथा निर्तेश गिरिले १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको गण्डकीले ५० ओभरमा ७ विकेट क्षेतीमा २३४ रन बनायो। गण्डकीका ओपनरद्वय गोविन्द बिक र अर्जुन कुमालले अर्धशतक बनाए। गोविन्दले ८७ बलमा ५५ तथा अर्जुनले १०६ बलमा ५० रन बनाए। दिपक डुम्रेले ४४, सिब्रिन श्रेष्ठले २६ अठा सुबास भण्डारीले २१ रन बनाए।

कर्णाली प्रदेशका बलर आवाश शाहले ३, मोहन बिकले २ तथा बिनित खत्रीले १ विकेट लिए।

आफूले खेलेका सबै ५ खेल जितेको सुदूरपश्चिमको १० अङ्क छ । बागमती ५ खेलमा ४ जित सहित ८ अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । लुम्बिनी समान खेलमा समान अङ्क भएता पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ । ७ टिम सहभागी प्रतियोगिताको शीर्ष २ मा रहने टिमले फाइनल खेल्ने छन् । अन्य चार प्रदेश भने बाहिरिसकेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy