ब्राउनको अर्धशतकमा पोखरालाई १ सय ९४ रनको लक्ष्य

२०८२ मंसिर ६, शुक्रबार १७:५८

काठमाडौं । ओपनर जोस ब्राउनको अर्धशतकको सहयोगमा सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा जारी खेलमा पोखराले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो ।

सुदूरपश्चिमका लागि ओपनर ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनमा आउट भए । पहिलो खेलमा रनको खाता नखोल्दै आउट भएका ब्राउनले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । सुदूरपश्चिमका अर्का विदेशी खेलाडी अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन १३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए ।

अघिल्लो खेलमा शुन्य रनमा नै आउट भएका ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोड्दै आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्काको सहयोगमा १५ रनमा आउट भए ।

अघिल्लो खेलमा सुदूरपश्चिमका लागि विष्फोटक ब्याटिङ गरेका हर्मित सिंह ६ बलमा ४ रनमा आउट भए । स्कट कुगेलाइन ८ रनमा आउट हुँदा इशान पाण्डे ६ रनमा नट आउट रहे । सुरुवात राम्रो गरेको सुदूरपश्चिमले पछिल्लो क्रममा भने राम्रो गर्न सकेन । उसले पछिल्लो ५ ओभरमा मात्र ३३ रन बनाउँन सफल भयो ।

पोखराका लागि जिम्मी निशमले ३ तथा डान डाउथवेट र आकाश चन्दले समान २ विकेट लिए । दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई हराउँदा पोखरा भने विराटनगर किंग्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिम जितको यात्रालाई जारी राख्न चाहान्छ । उता, पोखरा भने पहिलो जितको खोजीमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy