एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ ।

जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको हो । जनकपुरले बनाएको यो जारी एनपिएलकै सबैभन्दा कम रन हो ।

जनकपुरलाई झुकाउन सुदूरपश्चिमको बलिङलाइन चुस्त बन्यो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिए । यस्तै नरेन साउद, स्कट कग्लेजिन र सइफ जैवले एक एक विकेट लिए । ईशान पाण्डे प्लेयर अफ दि म्याच घोषित भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए । यस्तै ईशान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए। उहाँले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए । यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए । हर्ष थाकरले एक विकेट लिए ।

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । पाँच खेलको समाप्तिसँगै सुदूरपश्चिमले आठ अङ्क बनाएको छ । यस्तै पहिलो खेल हारेको जनकपुरको पनि आठ अङ्क छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy