नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम खेल खेल्दैछ। ओमान भ्रमण अन्तर्गत विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको चौथों खेलमा आज बेलुका ४:१५ बजे नेपालले आयोजक ओमानसंग प्रतिस्पर्धा गर्दै भ्रमणको अन्त्य गर्नेछ।
नेपाली क्रिकेट टिम ओमान भ्रमणमा पुगे लगत्तै प्रशिक्षक डेभ व्हाटमोरले आफ्नो एजेन्ट मार्फत नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएका थिए। व्हाटमोरले परिवारबाट टाढा रहेर कोरोना महामारीकालमा काम गर्न कठिन भएकोले नेपाली टिम छाड्ने निर्णयमा पुगेको बताएका थिए। क्यानले उनलाई परिवार सहित नेपालमै बस्न आग्रह गरेता पनि उनले आफ्नो निर्णय परिवर्तन गरेका छैनन्। सम्भवतः उनि ओमानबाट नेपाल नफर्की श्रीलंका फर्कनेछन्।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमान बिरुद्ध अन्तिम खेल जित्दै व्हाटमोरको सुखद विदाई गर्ने लक्ष्य नेपाली टिमले राखेको बताएका छन् – “ओमान भ्रमणको अन्तिम खेल जित्ने र प्रशिक्षकको अन्तिम खेल हुनाले राम्रो विदाई दिने योजना छ।”
ओमान भ्रमणको सुरुवातमा पपुवा न्यु गिनीलाई दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। तर त्यसपछि टिम ओमान र अमेरिकासंग लगातार दुई खेलमा पराजित हुँदा आलोचित बनेको छ। यस्तो अवस्थामा नेपाली टिमले जितले मात्र समर्थकहरुको निराशा अन्त्य गर्न सक्नेछन् भने प्रशिक्षक व्हाटमोरको सुखद विदाई। तर पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियमा अपराजित रहँदै उत्कृस्ट लयमा रहेको घरेलु टोलि ओमान बिरुद्ध जित दर्ता गर्न नेपाली टिमलाई सहज भने हुने देखिदैन।
६७ वर्षीय व्हाटमोर गत वर्ष डिसेम्बरमा एक वर्षको लागि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको कार्यकालमा नेपालले यो वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेलेको थियो जसमा नेपाल विजयी भएको थियो। त्यसपछि जारि ओमान भ्रमणनै उनको कार्यकालको मात्र दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। कोभिड-१९ का कारण बारम्बार प्रतियोगिताहरु स्थगित हुँदा व्हाटमोरको कार्यकालको भरपुर फाइदा नेपाली टिमले उठाउन सकेन।
व्हाटमोरको कार्यकालमा नेपाली क्रिकेट टिममा युवा खेलाडीहरु कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र ऐरी जस्ता खेलाडीहरुले राम्रो प्रदर्शन गरे। नेदरल्याण्ड-मलेसियासंग त्रिकोणात्मक सिरिजमा नेपालले गरेको सकरात्मक र आक्रामक ब्याटिंग शैलीका कारण व्हाटमोरको निकै तारिफ भएको थियो। ओमान भ्रमणमा भने एकदिवसीय फर्म्याटमा नेपालले ब्याटिंगमा व्यापक सुधार देखाउन सकेको छैन।
श्रोतका अनुसार व्हाटमोरले भारतको बरोडा रन्जी टिमको मुख्य प्रशिक्षक पद सम्हाल्नेछन्। यो वर्ष मार्चमानै भारतीय मिडीयाहरुले व्हाटमोर आगामी सिजन बरोडाको प्रशिक्षणको लागि आउने बताएका थिए। नेपाल क्रिकेट संघले ओमान भ्रमण पछि नयाँ प्रशिक्षकको घोषणा गर्नेछ।