नेपाली क्रिकेटको नयाँ यात्राको सुरुवातको रुपमा गत सोमबार नेपाल प्रिमियर लिग(एनपिएल) को यात्रा सुरुवात भएको छ । सोमबार भएको लोगो अनावरण कार्यक्रममा लिगको पहिलो संस्करणको मिती समेत घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गते सम्मको लागि तोकेको छ ।
क्यान स्रोतका अनुसार लिगमा ६ देखि ८ टोलीको सहभागीता रहने र नेपाली खेलाडीको लागि अक्सन हुने तथा विदेशी खेलाडीलाई टिमले सिधै अनुबन्ध गर्ने छ । लिगमा विदेशमा रहेका एनआरएनए खेलाडीको लागि भने के कस्तो व्यवस्था रहनेछ भनेर अहिले जानकारी गराईएको छैन । यसै सन्दर्भमा रहेर हाल अस्ट्रेलियामा रहेका नेपाली यू१९ टोलीका पूर्व खेलाडी सुनम गौतम भनाई यसप्रकार रहेको छ ।
सोमबारको दिन अस्ट्रेलियामा त मध्यरात रहेको थियो जतिबेला नेपाल प्रिमियर लिगको मिती घोषणा भयो । मैले त बिहान उठेर सामाजिक संजालबाट जानकारी पाए । खुसीले मन साह्रै रमायो । विशेषतः हामी समग्र नेपालीलाई यसले खुसि बनाउने त छदै थियो । मलाई यसअर्थमा थप खुसी हुने मौका दियो कि म एउटा नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटर थिए । मैले क्रिकेटको कखरा सिकेको त्यही टियु मैदान जुन मैदानलाई नेपाली क्रिकेटको घर भनिन्छ । त्यही मैदानमा नेपाली क्रिकेटको पहिचान बोकेको एनपिएलले पाइला राख्दै थियो ।
यस्तै खुसी दुई वर्ष अघि पनि मेरो सामू आएको थियो । त्यो बेला नेपालको आधिकारीक भनेर नेपाल टी२० लिगको घोषणा भएको थियो । म पनि खेलाडीको रुपमा त्यसमा सहभागी हुन पाउँदा धेरै खुसी थिए । पटक पटक मिती सरेर पनि सो लिग आयोजना त भयो । त्यसका बीचमा उठेका प्रश्नहरुको जवाफ सरोकारवाला निकायबाट आजसम्म मिलेको छैन । त्यसबेला त्यो लिगले नेपाली क्रिकेटलाई लगाएको अविस्मरणिय घाउलाई भुल्दै सबै जना अबको नयाँ यात्रा थालनीलाई सफलतामा पुर्याउन जुट्नु पर्ने देख्छु ।
नेपाली क्रिकेटमा खेलाडीका रुपमा एक सफल नाम बनाएका पारस खड्का क्यानको जिम्मेवार पदमा आसिन भएपछि म लगायत धेरै नेपाली क्रिकेट प्रेमीहरुमा उत्साह छाएको थियो । त्यसमा चाहेको खुसीको एक चरण कार्यान्वयनको चुनौती अब पारससँग छ । त्यो चुनौती एनपिएल उनको योजनामा कसरी अघि बढ्छ भन्ने हो । उनले नेपाली क्रिकेटको विकासमा धेरै सहयोग गरेका हामी देश बाहिर रहेका क्रिकेटरहरुलाई कसरी समेट्छन् भन्ने हो ।
आफ्नो मातृभुमीमा गएर खेल्ने रहर म जस्ता देश बाहिर रहेर पनि क्रिकेटमा नै रहिरहेका धेरै जनामा रहेको छ । विभिन्न कारणले नेपाली क्रिकेटप्रति अगाध लगाव भए पनि विदेशीन बाध्य भएका हामी धेरैको लक्ष्य मातृभुमीका लागि केही योगदान गरौं । भन्ने रहन्छ नै
हामी नेपाल फर्किएर केही समय क्रिकेटको वातावरणमा भुलौं भन्ने रहेको छ । यसका लागि आउने एनपिएलमा हाम्रा लागि क्यानले केही व्यबस्था गर्छ भन्ने म लगायतको विश्वास रहेको छ ।