सन्दिपलाई भारतीय टिममा छनौट गर्ने गावस्करको चाहना- “नेपालको राम्रो खेलाडी, भारतले किन छनौट गर्न सक्दैन?” 

विश्व क्रिकेटका महान भारतीय क्रिकेटर सुनिल गावस्करले एक कार्यक्रममा नेपाली स्पिनर सन्दिप लामिछानेको तारिफ गर्दै उनलाई भारतीय टिममा छनौट गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सेप्टेम्बर १९ देखि युएईमा सुरु हुने आईपीएलमा लगातार तेश्रो सिजन नेपाली लेग स्पिनर दिल्ली क्यापीटल्सको प्रतिनिधित्व गर्दैछन्। लिग अघि भारतीय चर्चित न्युज च्यानल ‘आजतक’ को खेलकुद विशेष युट्युब च्यानल “स्पोर्ट्स तक’ मा बिहिबार दिल्ली क्यापिटल्स टिमबारे बल्ने क्रममा गावस्करले सन्दिप बारे उक्त कुरा भनेका हुन्। आईपीएलमा यो सिजन अंग्रेजी कमेन्टेटरको भूमिकामा रहने ७१ वर्षीय गावस्करलाई ‘आजतक’का खेल पत्रकार विक्रान्त गुप्ताले टिमबारे प्रश्नहरु राखेका थिए।

दिल्ली टिमको स्पिन पक्षको चर्चा गर्ने क्रममा गावस्करले सन्दिपको खुलेरै तारिफ गरे जुन क्रममा उनलाई भारतीयबाट किन छनौट गर्न सकिदैन भन्ने प्रश्न समेत गरे। टिमका अनुभवी भारतीय अफ स्पिनर रभीचन्द्रन आश्विनको चर्चा गरेपछि उनले सन्दिपको चर्चा गर्दै बताए-

“तपाईसंग एउटा विदेशी स्पिनर छन्, उनि हुन् ‘लामिछाने’ जो लेग स्पिनर हुन्। पछिल्लो वर्ष उनले निकै राम्रो बलिंग गरेका थिए।” गत वर्ष सन्दिपले ६ खेलमा मात्र मौका पाउदा ८ विकेट लिएका थिए।

टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्ने विश्वकै पहिले ब्याट्सम्यान गावस्करले त्यसपछि स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई इंग्ल्यान्डले छनौट गरेको उदाहरण प्रस्तुत गर्दै भारतले पनि नेपालको राम्रो खेलाडीलाई छनौट गर्नुपर्ने बताए-

“म सधै यो सोच्छु कि, जस्तो इंग्ल्यान्डमा  स्कटल्याण्ड र आयरल्याण्डका खेलाडी इंग्ल्यान्डको लागि खेल्न सक्छन्, उनीहरुलाई कुनै समस्या हुँदैन। जहिले पनि स्कटल्याण्ड र आयरल्याण्डको खेलाडी इंग्ल्यान्डलाई राम्रो लागे इंग्ल्यान्डले छनौट गर्छ। त भारतले पनि सायद, नेपालको कोहि खेलाडी छ, राम्रो खेलाडी छ भने उसलाई भारतले किन छनौट गर्न सक्दैन?” गावस्करले प्रश्न गरे।

“लामिछाने एउटा यस्तो लेग स्पिनर अल-राउण्डर हुन्, उनि सायद भारतको लागि पनि राम्रो प्रदर्शन गर्न सक्छन्।”

तर, गावस्करले सन्दिपबारे उक्त भनाइ पछि आफुले थोरै मजाकमा यो कुरा गरेको तर यो कुरामा विचार गर्नुपर्ने बताए – “हेर्नुस म थोरै मजाकमा पनि कुरा गर्दै थिए, तै पनि यो कुरामा ध्यान दिनुपर्छ।”

अन्तिम-११ मा सन्दिप हुँदा मिश्रा बाहिर 

सन्दिपबारे कार्यक्रममा अर्को प्रसंगमा गावस्करले दिल्लीको अन्तिम-११ मा सन्दिप छन् भने अमित मिश्रालाई आफूले बाहिर राख्ने बताए। गावस्करले सन्दिप सहित ५ जना विदेशी खेलाडी ( सन्दिप, कागीसो रबाडा, किमो पौल, मार्कस स्टोइनिस, शिमरन हेटमायर )  चुनेपछि पत्रकार गुप्ताले ४ जना विदेशी खेलाडी हुनुपर्नेमा ५ जना भएको तथा टिममा लेग स्पिनर अमित मिश्रा र सन्दिप लामिछानेलाई एकै पटक अन्तिम-११ मा कसरि राख्नने भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफमा गावस्करले सन्दिप हुँदाहुँदै मिश्रालाई अन्तिम-११ मा नराख्ने बताए –

“उनि ( मिश्रा ) आउन सक्छन् तर, लामिछाने छन् भने अमित मिश्रा आउदैनन्।”

गावस्करले अन्तिम-११ मा मिश्रा भन्दा सन्दिपलाई पहिलो रोजाइमा राखे

उनले दिल्लीको स्पिनमा धेरै बिकल्पहरु रहेको र आश्विनको उपस्थितिले कप्तान ऐयरलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। उनले टिमका अर्का भारतीय देब्रे हाते स्पिनर अक्षर पटेलको भने चर्चा गरेनन् र अन्तिम-११ मा पनि राखेनन्।

“स्पीनमा टिमसंग धेरै बिकल्पहरु रहेको छ। आश्विन छन् जो संग अनुभव छ। उनि पछिल्लो सिजन पन्जाबका कप्तान पनि थिए उनको उपस्थितिले कप्तानीमा श्रेयस ऐयरलाई मद्दत पुग्नेछ।

यस्तै उनले आफुले रोजेको ५ विदेशी खेलाडी मध्ये किमो पौललाई रिजर्भमा राख्दै सन्दिप, कागीसो रबाडा, मार्कस स्टोइनिस, शिमरन हेटमायरलाई विदेशी खेलाडीको रुपमा राखे।

गावस्करले यो पटक दिल्लीको टिम सन्तुलित रहेको जसकारण उपाधि जित्ने प्रवल सम्भावना रहेको विश्वास व्यक्त गरे।

गावस्करको दिल्लीको अन्तिम-११ 

दिल्लीको अन्तिम-११ खेलाडी चुन्ने क्रममा गावस्करले ओपनरमा शिखर धवन र पृथ्बी शा त्यसपछि क्रमशः तेश्रो देखि छैठौं नम्बरको ब्याटिंगमा कप्तान श्रेयस ऐयर, रिशभ पन्त, शिमरन हेटमायर, मार्कस स्टोइनिसलाई राखेका छन्। त्यसपछि स्पिनरमा सन्दिप लामिछाने, रभीचन्द्रन आश्विन तथा फास्ट बलरमा कागीसो रबाडा र इशान्त शर्मालाई चुनेका छन्। तर उनले किमो पौल र अमित मिश्रालाई अन्तिम-११ मा राख्ने नराख्ने स्पस्ट पारेनन्।

भिडियो हेर्नुस 

यस अघि चर्चित क्रिकेट वेबसाइट EspnCricinfo ले पनि लिग सुरु हुनु अघि गरेको दिल्ली टिमको विश्लेषणको क्रममा पूर्व भारतीय क्रिकेटर आकाश चोपडा, अजित अगरकर र दिप दाशगुप्ताले नेपाली स्पिनरलाई अन्तिम-११ मा राख्नुपर्ने धारणा राखेका थिए। 

आईपीएलमा सन्दिपको प्रदर्शन 

२०१८ मा पहिलो सिजन सन्दिपले ३ खेलमा तथा २०१९ मा ६ खेलमा अन्तिम-११ मा मौका पाएका थिए। त्यस क्रममा पहिलो सिजनमा ५ तथा दोश्रो सिजन ८ विकेट सहित ९ खेलमा कुल १३ विकेट लिएका छन्। यस क्रममा सन्दिपले सुरेश रैना, पर्थिभ पटेल, काइरन पोलार्ड, स्याम करन, मोइन अलि, क्रिस गेल , केएल राहुल जस्ता ब्याट्सम्यानको विकेट लिएका थिए।

दिल्ली क्यापीटल्स टिम : श्रेयस अयर ( कप्तान ), पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल(✈️), अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा(✈️), सन्दिप लामिछाने(✈️), आर. अश्विन, अजिंक्य रहाने, एलेक्स केरी(✈️), शिमरन हेटमायर(✈️), एनरिक नोर्किया(✈️), ड्यानीयल स्याम्स(✈️) , मार्कस स्टोइनिस(✈️), मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

सम्बन्धित

IPL : गावस्करले बताए चेन्नाईलाई उपाधि जित्न मुस्किल हुने कारण

३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

IPL 2020 : कुन टिममा को-को खेलाडी छन्

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy