सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

१३ औं आईपीएल अन्तर्गत सुपर ओभरमा पुगेको मुम्बई इन्डीएन्स र रोयल च्यालेन्जर्स बीच लिगको १० औं खेलमा बैंगलोर विजयी भएको छ।

पहिले ब्याटिंग गर्दै बैंगलोरले २०१ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ विकेट गुमाएर २०१ रननै बनाएपछि खेल बराबरीमा पुगेको थियो। सुपर ओभरमा मुम्बईले पहिले ब्याटिंग गर्दै दिएको ८ रनको लक्ष्य बैंगलोरले छैठौ बलमा जितेको हो।

जारि लिगमा दोश्रो खेल सुपर ओभरमा गएको थियो। यस अघि पन्जाब र दिल्लीको खेल सुपर ओभरमा पुग्दा दिल्ली विजयी भएको थियो।

रोमान्चक रह्यो सुपर ओभर

मुम्बईको ब्याटिंग :  सुपर ओभरमा बैंगलोरको लागि नभदिप सैनीले बलिंग गरे भने पोलार्ड र हार्दिक पान्ड्या ब्याटिंगमा आए।

सैनीले पहिलो २ बलमा १/१ रन दिए। त्यसपछि तेश्रो बल पोलार्डले डट बल खेले। चौथो बलमा पोलार्डले चौका प्रहार गरे। पाँचौ बलमा पोलार्डलाई सिनिले क्याच आउट गराए। छैठौं बलमा पान्ड्याले बल छुन सकेनन् र १ रन बाईको रुपमा आयो। मुम्बईले जितको लागि बैंगलोरलाई ८ रनको लक्ष्य दियो।

बैंगलोरको ब्याटिंग : मुम्बईको लागि बलिंग गर्न जस्प्रित बुम्राह आए भने बैंगलोरको ब्याटिंगमा कप्तान बिराट कोहली र एबि डी भिल्लीयर्स आए

ओभरको पहिलो बलमा डी भिल्लीयर्सले १ रन तथा दोश्रो बलमा कोहलीले १ रन बनाए। तेश्रो बलमा डी भिल्लीयर्सलाई अम्पायरले आउट दिएता पनि उनले रिभ्यु माग गरेपछि निर्णय फिर्ता भयो। पहिलो ३ बलमा बैंगलोरले मात्र २ रन बनाउन सक्यो।

चौथो बलमा बुम्राहले गरेको बाउन्सरलाई डी भिल्लीयर्सले चौका प्रहार गरे। त्यसपछि २ बलमा जित्न २ रन बाँकी रह्यो। पाँचौ बलमा डी भिल्लीयर्सले बुम्राहको योर्कर बलमा १ रन लिए। त्यसपछि अन्तिम बलमा कोहलीले बुम्राहको लोअर फुल टस बललाई चौका प्रहार गर्दै टिमलाई जिताए।

खराब सुरुवातका बाबजुद पोलार्ड र किशनको शानदार इनिंगले खेल बराबरी 

२०२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो हुन सकेन। ८ बलमा ८ रन बनाएका कप्तान रोहित शर्मालाई दोश्रो ओभरमा वासिंगटन सुन्दरले क्याच आउट गराए। लगत्तै ओभरमा युजभेन्द्र चाहलले अर्का ओपनर क्विन्टन डीककलाई क्याच आउट गराए। डी ककले १५ बलमा १४ रन बनाएका थिए। सातौँ ओभरमा खाता नखोली सुर्यकुमार यादबलाई डेब्यु गरिरहेका इसुरु उडानाले क्याच आउट गराए।

३९/३ को अवस्थाबाट इशान किशन र हार्दिक पान्ड्याले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। १३ बलमा १५ रन बनाएका पान्ड्या ठूलो सट खेल्दा क्याच आउट हुँदै जाम्पालाई विकेट सुम्पे।

छैठौं नम्बरमा ब्याटिंगमा आएका काइरन पोलार्ड र किशनले त्यसपछि मुम्बईको ब्याटिंग सम्हाले। दुवैले पाँचौ विकेटको लागि ११९ रनको साझेदारी गरे।

पोलार्ड र किशनको विस्फोटक इनिंग 

जितको लागि ४ ओभरमा ८० रन आवस्यक हुँदा जम्पाले गरेको १७ औं ओभरमा पोलार्डले ३ छक्का र १ चौका प्रहार गर्दै जितको आशा जगाए। जाम्पाले सो ओभरमा २७ रन खर्चिए। लगत्तै ओभरमा युजभेन्द्र चाहललाई पोलार्डले २ तथा किशनले १ छक्का हिर्काए। २० बलमा पोलार्डले छक्का प्रहार गर्दै अर्धशतक पनि पुरा गरे। चाहलले ओभरमा २२ रन खर्चिए।

इशान किशनले ९९ रन बनाए

अन्तिम २ ओभरमा मुम्बईलाई जित्न ३१ रन आवस्यक रह्यो। १९ औं ओभरमा नभदिप सैनीले १२ रन खर्चिए। ओभरको पहिलो ४ बलमा ५ रन दिएका उनलाई पाँचौ बलमा किशनले छक्का प्रहार गरे।

अन्तिम ओभरमा जितको लागि १९ रन आवस्यक रह्यो जुन ओभर बलिंग गर्न इसुरु उडाना आए।

ओभरको पहिलो २ बलमा १/१ रन दिएका उडानाको तेश्रो बलमा किशनले लंग-अनमा छक्का प्रहार गरे। लगत्तै बलमा किशनले पुनः सोहि दिशामा अर्को छक्का हिर्काए। अब २ बलमा जित्न मात्र ५ रन आवस्यक रह्यो।

तर ओभरको पाँचौ बलमा ९९ रनको स्कोरमा किशन छक्का हिर्काउन खोज्दा पडीक्कलबाट क्याच आउट भए। पहिलो शतक बनाउन मात्र १ रनले चुकेका किशनले ५८ बलमा २ चौका र ९ छक्का प्रहार गरे।

अन्तिम बलमा जितको लागि ५ रन आवस्यक रहंदा पोलार्डले डिप मिड विकेटमा चौका प्रहार गर्दै खेल बराबरी गरे। पोलार्डले अविजित ६० रन बनाए जुन क्रममा २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

पोलार्डले २४ बलमा ५० रन बनाए

बैंगलोरको बलिंगमा इसुरु उडानाले २ विकेट ( ४-०-४५-२ ) लिए। वासिंगटन सुन्दर ( ४-०-१२-१ ) , युजभेन्द्र चहल ( ४-०-४८-१ ) , एडम जाम्पा ( ४-०-५३-१ ) ले समान १ विकेट लिए। नभदिप सिनि ( ४-०-४३-० ) विकेटविहिन रहे।

बैंगलोरको ब्याटिंग :  डी भिल्लीयर्स, पडीक्कल र फिन्चको अर्धशतक

यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो।

उत्कृस्ट सुरुवात गर्ने क्रममा देभदत्त पडीक्कल र आरोन फिन्चले ८१ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टको बलमा पोलार्डबाट समातिनु अघि फिन्चले लिगमा पहिलो अर्धशतक पुरा  गरे। फिंचले ५२ रन बनाउदा ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

फिन्चको विकेटपछि १३ औं ओभरमा कप्तान बिराट कोहलीलाई लेग स्पिनर राहुल चाहरले रोहित शर्माबाट क्याच आउट गराए। कोहलीले ११ बल खेल्दा मात्र ३ रन बनाउन सके।

कोहलीको विकेट पछि ओपनर देभदत्त पडीक्कलले एबि डी भिल्लीयर्ससंग साझेदारी गरे जुन क्रममा लिगमा दोश्रो अर्धशतक पुरा गरे। ४० बलमा ५४ रन बनाएका पडीक्कललाई ट्रेन्ट बोल्टले १८ औं ओभरमा पोलार्डबाट क्याच आउट गराए। उनले ५ चौका र २ छक्का प्रहार गरे। दुवैले तेश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे।

पडीक्कलको विकेटपछि डी भिल्लीयर्सले आक्रामक ब्याटिंग गर्दै २३ बलमा अर्धशतक पुरा गरे। त्यस क्रममा उनले जस्प्रित बुम्राहको १७ औं ओभरमा २ छक्का र १ चौका तथा बुम्राहको १९ औं ओभरमा २ चौका र १ छक्का प्रहार गरे। डी भिल्लीयर्सलाई देब्रे हाते ब्याट्सम्यान शिभम दुबेले राम्रो साथ दिए। दुबेले जेम्स प्याटिन्सले गरेको अन्तिम ओभरमा ३ वटा छक्का हिर्काए। डी भिल्लीयर्स र दुबेले चौथो विकेटको लागि मात्र १७ बलमा ४७ रनको अविजित साझेदारी गरे।

डी भिल्लीयर्सले अविजित ५५ रन बनाए जुन क्रममा २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै दुबेले १० बलमा ३ छक्का र १ चौका मद्दतले अविजित २७ रन बनाए।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्ट ( ४-०-३४-२ ) ले सर्वाधिक २ विकेट लिए भने राहुल चाहर ( ४-०-३१-१ ) ले १ विकेट लिए। जस्प्रित बुम्राह विकेटविहिन रहे जसले ४ ओभरमा ४२ रन खर्चिए। जेम्स प्याटिन्सन ( ४-०-५१-० ) , क्रुनाल पान्ड्या ( ३-०-२३-० ) , काइरन पोलार्ड ( १-०-१३-० ) विकेटविहिन रहे।

लिग अन्तर्गत मुम्बई पहिलो खेलमा चेन्नाईसंग ५ विकेटले पराजित भएको थियो भने दोश्रो खेलमा कोलकातालाई ४९ रनले पराजित गरेको थियो। बैंगलोरले पहिलो खेलमा हैदरावादलाई १० रनले पराजित गर्दा दोश्रो खेलमा पन्जाबसंग ९७ रनले पराजित भएको थियो।

अंकतालिका र आगामी खेल 

अंक तालिकामा २ जित र १ हार सहित ४ अंक रहेको बैंगलोर तेश्रो स्थानमा पुगेको छ। समान अंक रहे पनि दिल्ली र राजस्थान नेट रन रेटमा अघि रहेको छ। मुम्बई ३ खेलमा २ हार र १ जित पछि २ अंक सहित पाँचौ स्थानमा झरेको छ।

लिग अन्तर्गत बैंगलोरले आगामी खेल राजस्थान बिरुद्ध शनिबार ( अक्टोबर ३ ) खेल्नेछ। मुम्बईले आगामी खेल बिहिबार ( अक्टोबर १ ) पन्जाब बिरुद्ध खेल्नेछ।

मंगलबारको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ। शेख जायद स्टेडीयम, अबु धाबीमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ। दिल्लीले खेलेको दुवै खेलमा जित हात पार्दा हैदरावाद दुवै खेलमा पराजित भएको छ।

“इमान्दार भएर भन्छु, मैले जति पाउनु पर्ने हो त्यति पाईन” मिश्रा

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना

तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]