सुरीको उत्कृस्ट अर्धशतक, युएईद्वारा नेपाललाई किर्तिमानी विशाल लक्ष्य

ओमानमा जारी चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

अल अमिरात मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १९२ रन बनाउदै नेपाललाई १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध कुनै पनि देशले बनाएको यो दोश्रो ठूलो योगफल हो भने युएईको नेपाल बिरुद्ध सर्वाधिक योगफल हो । यस अघि नेदरल्याण्डले नेपाल बिरुद्ध गत वर्ष २०९ रन बनाएको थियो।

युएईको लागि चिराग सुरीले सर्वाधिक ८४ रन बनाए जुन क्रममा अविजित रहेका उनले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। रोहन मुस्तफाले ३५ बलमा ५ चौका र २ छक्का मद्दतले ४९ रन बनाए। मुहम्मद वासिमले २२ तथा मोहम्मद बुताले १४ रन बनाए।

ओपनर मुहम्मद वासिमलाई तेश्रो ओभरमा शाहब आलमले क्याच आउट पारेपछि दोश्रो विकेटको लागि अर्का ओपनर चिराग सुरीले रोहन मुस्तफासंग ९७ रनको साझेदारी गरे। चौधौं ओभरमा मुस्तफालाई आरिफ सेखले स्टम्पिंग गराए। सुरीले बसिल हमिदसंग ३० रन जोडे। सत्रौं ओभरमा बुतालाई सन्दिपले बोल्ड गरे। चौंथो विकेटको लागि सुरी र मोहम्मद बुतासंग अविजित ४२ रनको साझेदारी गरे।

नेपालको बलिंगमा शाहब आलम ( २-०-३५-१ ), सन्दिप लामिछाने ( ४-०-२३-१ ) र आरीफ शेखले ( २-०-१७-१ ) समान एक विकेट लिए। २०१५ पछि टिममा पुनरागमन गरेका जितेन्द्र मुखिया विकेटविहिन ( ३-०-२५-० ) रहे। कमल सिंह ऐरीले ४ ओभरमा ४२ रन खर्चदा विकेटविहिन रहे।

खेलमा लोकेश बम डेब्यु गरिरहेका छन्। अविनाश बोहरा, करन केसी, कुशल भुर्तेल, सागर ढकाल र प्रदिप ऐरी आज बेन्चमा छन्। जितेन्द्र मुखिया, शाहब आलम र लोकेश बमले आज मौका पाएका हुन्।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy