कर्णाली प्रदेश कप क्रिकेटको उपाधि सुर्खेतलाई

२०७५ पुष १८, बुधबार ११:४०

  • पुष १७ ,  रुकुम पश्चिम 

कर्णाली प्रदेश कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ। मंगलवार भएको फाइनलमा जाजरकोटलाई १४ रनले पराजित गर्दै सुर्खेत च्याम्पियन बन्यो।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ स्थित नाखिरा खेलमैदानमा टस जितेर ब्याटिङ गरेको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो। सुर्खेतका भविन सारु मगरले नटआउट ४० र टेक सलामिले पनि ४० रन बनाए। जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए।

१६१ रनको लक्ष्य पछ्याएको जाजरकोटले पुरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो। जाजरकोटका लागि पद्मराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो अङ्कमा रन बनाउन नसकेपछि खेल जित्न सकेन। सुर्खेतका कप्तान रवीन्द्रजङ्ग शाहीले सर्वाधिक ४ विकेट लिए भने ललित प्याकुरेलले २ विकेट लिए।

च्याम्पयिन सुर्खेतले नगद एक लाखसहित ट्रफी हात पार्दा उपविजेता जाजरकोटले ६० हजारमा चित्त बुझायो।

प्रतियोगीताको म्यान अफ द सिरिज कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजङ्ग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए।
गत पुस १० गते देखि सुरु भएको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए।

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यो जिल्ला र कर्णाली प्रदेशकै हालसम्मको ठूलो क्रिकेट प्रतियोगिता प्रतियोगिता भएको जिल्ला क्रिकेट सङ्घ रुकुमले जनाएको छ। यस प्रतियोगितालाई वर्षेनी निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला क्रिकेट सङ्घ रुकुमका अध्यक्ष बाँठामगरले बताए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy