एमएम कप वान-डे : प्रदेश-३ लाई जिताउन सुर्य तामाङको घातक बलिङ्ग

  • विकेटनेपाल, पुष २६ , बिहिबार 

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको तेश्रो खेलमा प्रदेश नम्बर-३ ले प्रदेश नम्बर-६ कर्णालीलाई ६ विकेटले पराजित गरेको छ।

समुह ‘बि’ बाट यस अघि दुवै खेल जित्दै त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरिसकेको छ। समुह ‘ए’ बाट पनि नेपाल पुलिस क्लबले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ।

इनरुवा मैदानमा प्रदेश नम्बर-६ ले टस जितेर पहिले ब्याटिंग गर्दै २९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउदा १११ रन मात्रै बनाउन सक्यो। कप्तान रबिन्द्र जंगले सर्वाधिक ३९, निश्चल रावतले २२ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश-३ ले ३२ रन अतिरिक्तको रुपमा खर्चेको थियो।

प्रदेश ३ का देब्रे हाते स्पिनर सुर्य तामाङले ५ विकेट लिंदै प्रदेश-६ को इनिंग ध्वस्त पारे। यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका उनले ९.२ ओभर बलिङ्ग गर्दै २ मेडन ओभर सहित २२ रन मात्र खर्चिए।

Surya Tamang ( Photo - KCTC )
Surya Tamang ( Photo – KCTC )

११२ रनको लक्ष्य प्रदेश ३ ले २६.१ ओभरमा मात्र ४ विकेट गुमाएर भेटायो। आसुतोष घिरोइयाले अविजित २० तथा सोनु तामाङले अविजित १४ रन बनाए। त्यस अघि आदील खानले २६, इशान पाण्डेले २० तथा जितेन्द्र सिंह ठकुरीले १६ रन बनाए।

कर्णाली प्रदेशका बलर दिवं पुन, युवराज केसी, राज साह र रविन्द्र जंग शाहीले १/१ विकेट लिए।

सुर्य तामाङ खेलको प्लेयर अफ द म्याच समेत घोषित भए।

प्रतियोगिता अन्तर्गत शुक्रवारको खेलमा शशस्त्र प्रहरी बल एपीएफ र प्रदेश नम्बर-१ बीच प्रतिस्पर्धा हुनेछ। हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-६ लाई २४९ रनले पराजित गरेको थियो। 

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy