कान्तिपुर सिटी कलेजलाई डम्बर धामी स्मृति टी–१० क्रिकेट उपाधि

काठमाडौं। कान्तिपुर सिटी कलेजले काठमाडौं इन्जिनियरिङ कलेजलाई ४ रनले पराजित गर्दै स्व. डम्बर धामी स्मृति टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, कीर्तिपुरमा बिहीबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कान्तिपुर सिटीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८१ रन बनाएको थियो।

कान्तिपुरका लागि जीवन रायले सर्वाधिक ३० रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं इन्जिनियरिङ कलेजले १० ओभरमा ५ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो। रायले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए।

यस आलराउन्ड प्रदर्शनका लागि जीवन राय ‘प्लेयर अफ द म्याच’ घोषित भए भने प्रतियोगिता भरिको उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ पनि बन्न सफल भए।

प्रतियोगिता गत आइतबारदेखि सुरु भएको थियो, जसमा नेपालका तीन विश्वविद्यालय अन्तर्गतका १२ कलेजका टिम सहभागी थिए। विजेता टिमलाई नगद ३५ हजार रुपैयाँ र उपविजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कार नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य सुदेश पराजुलीले वितरण गरेका थिए।

यो प्रतियोगिता अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले दिवंगत डम्बर धामीको स्मृतिमा आयोजना गरेको थियो। डढेलधुराका धामीको जिप दुर्घटनामा घाइते भई उपचारको क्रममा गत वर्ष मंसिरमा निधन भएको थियो। उनले हिस्ट इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy