टि-१० लिग : आज कुशल, सोमपाल र करन आवद्ध टिमको खेल

२०७७ माघ १६, शुक्रबार ११:४४

युएईमा बिहिबार सुरु भएको ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दोश्रो दिन शुक्रबार नेपाली खेलाडीहरु सोमपाल कामि, करन केसी र कुशल मल्ल आवद्ध तिनवटै टिमहरुको खेल रहेको छ।

लिग अन्तर्गत हिजो सम्पन्न खेलमा सोमपाल आवद्ध टिम मराठा अरबियन्स र करन केसी आवद्ध पुने डेभिल्स विजयी भए। मराठाले नर्थर्न वारियर्सलाई र पुनेले डेक्कन ग्ल्याडीएटर्सलाई पराजित गरेको थियो। खेलमा सोमपाल र करन दुवै विकेटविहिन रहे।

शुक्रबारको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत करन केसीको टिम पुनेले कलन्दर्ससंग खेल्नेछ। खेल नेपाली समय ५:४५ बजे बेलुका सुरु हुनेछ।

दिनको दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत सोमपाल आबद्ध मराठाले दिल्ली बुल्ससंग खेल्नेछ। खेल नेपाली समय ८ बजे बेलुका सुरु हुनेछ।

दिनको तेश्रो खेलमा समुह ‘बि’ अन्तर्गत कुशल मल्ल आवद्ध टिम अबुधाबीले डेक्कन ग्ल्याडीएटर्ससंग खेल्नेछ। खेल नेपाली समय राति १०:१५ बजे सुरु हुनेछ। टिम अबु धाबीमा पारस खड्का मेन्टरको रुपमा आवद्ध रहेका छन्।

खेलहरुको प्रत्यक्ष प्रशारण टिभीमा सोनी सिक्स च्यानलले गरिरहेको छ।

सोमपाल र करन केसीले पहिलो खेलमै डेब्यु गर्ने मौका पाएपछि कुशल मल्लले पनि डेब्यु गर्ने आशा बढेको छ। खेलाडीहरु क्वारेन्टाइन अवधि पुरा नभएका कारण चाडै युएई पुगेका नेपाली खेलाडीहरुलाई अन्तिम-११ मा पर्न बढी सहज भएको थियो।

कुशल आवद्ध टिम अबुधबीमा क्रिस गेल, पल स्टरलिंग, एलेक्स हेल्स, लुक राइट, नजीबुल्लाह जद्रान, बेन कक्स, क्रिस मोरिस, हेडन वाल्स, नभीन उल हक, रोहन मुस्तफा, अभिस्का फर्नान्डो, उस्मान सिनवारी जस्ता ठूला खेलाडीहरु छन्। यस्तो अवस्थामा कुशलले अन्तिम-११ मा मौका पाउन ठूला नामहरु बाहिर बस्नुपर्ने हुन्छ। देब्रे हाते ब्याट्सम्यान रहेकोले भने कुशलको मौका पाउने सम्भावना थोरै बढी रहन्छ।

कुशल मल्लले पनि लिगमा डेब्यु गरे एउटै विदेशी लिगमा तिन जना नेपाली खेलाडीहरुले खेल्ने मौका पाएको पहिलो अवसर हुनेछ। यस अघि गत सिजन ग्लोबल टि२० लिग क्यानडामा सोमपाल कामि र सन्दिप लामिछानेले खेलेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy