टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

२०७७ माघ ८, बिहीबार २०:१९

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु बिहिबार युएई प्रस्थान गरेका छन्।

लिगमा पहिलो पटक तिन जना नेपाली खेलाडीहरु एकै पटक छनोट भएका छन्। सोमपाल कामि मराठा अरबियन्सबाट, करन केसी पुने डेभिल्सबाट तथा कुशल मल्ल टिम अबुधाबीमा आबद्ध गरेका छन्। यस्तै अघिल्लो सिजन टिम अबु धाबीबाट खेलेका पारस खड्का यो पटक सोहि टिमको मेन्टरको रुपमा लिगमा सहभागी हुनेछन्। करन र कुशल पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् भने सोमपालले गत वर्ष ग्लोबल टि-२० लिग खेलेका थिए।

सोमपाल कामि बुधबार बिहान तथा पारस खड्का कुशल मल्ल र करन केसी बुधबार बेलुका युएईतर्फ प्रस्थान गरेका हुन्। खेलाडीहरुले आयोजनस्थल प्रस्थान गर्नु अघि कोरोना परिक्षण गराएका थिए जसको रिपोर्ट नेगेटिभ आएको छ। युएई पुगेपछि पनि उनीहरुको कोरोना परिक्षण हुनेछ भने त्यहाँ पुगेपछि आइसोएसनमा बस्नुपर्नेछ।

टि-१० लिगमा सोमपाल आबद्ध मराठा समुह ‘ए’ मा रहेको छ जुन समुहमा बांग्ला टाइगर्स, दिल्ली बुल्स र नर्थर्न वारियर्स रहेका छन्। समुह ‘बि’ मा करन आवद्ध पुने र टिम अबुधाबी सहित डेक्कन ग्ल्याडीएटर्स र कलन्दर्स रहेका छन्।

सोमपाल आबद्ध टिम मराठा अरबियन्समा पाकिस्तानी स्टार क्रिकेटर शोयब मलिक, मोहम्मद हफिज जस्ता खेलाडीहरु रहेका छन्। मराठाले लिगमा पहिलो खेल जनवरी २८ तारिखमा नर्थर्न वारियर्ससंग खेल्नेछ। यस्तै टिमले पहिलो चरणमा दोश्रो खेल जनवरी २९ तारिखमा दिल्ली बुल्ससंग तथा तेश्रो खेल जनवरी ३० तारिखमा बांग्ला टाइगर्ससंग खेल्नेछ।

कुशल मल्ल आबद्ध टिम अबु धाबीमा क्रिस गेल, क्रिस मोरिस, लुक राइट, अभिस्का फर्नान्डो, एलेक्स हेल्स, रोहन मुस्तफा जस्ता खेलाडीहरु रहेका छन्। अबु धाबीले पहिलो खेल जनवरी २९ तारिखमा डेक्कन ग्ल्याडीएटर्स, दोश्रो खेल जनवरी ३० तारिखमा कलन्दर्ससंग तथा तेश्रो खेल पुने डेभिल्ससंग खेल्नेछ।

लिगको पहिलो चरणको खेल तालिका ( भारतीय समय )

करन केसी आवद्ध टिम पुने डेभिल्स टिममा मोहम्मद आमिर, स्याम बिलिंग्स, अजन्था मेन्डीस, थिसारा परेरा, चाडविक वाल्टन, नासिर होसेन, चमरा कपुगेद्रा जस्ता खेलाडीहरु रहेका छन्। पुनेले जनवरी २८ तारिखमा डेक्कन ग्ल्याडीएटर्ससंग, जनवरी २९ तारिखमा कलन्दर्ससंग तथा जनवरी ३१ तारिखमा टिम अबु धाबीसंग प्रतिस्पर्धा गर्नेछ।

पहिलो चरणको खेल सकिएपछि फेब्रुअरी १ देखि ५ सम्म दोश्रो चरणको सुपर लिग खेलहरु सुरु हुनेछ। दोश्रो चरणमा पहिलो चरणमा टिमको अंकतालिकाको स्थान अनुसार खेल तालिका हुनेछ। पहिलो चरण र दोश्रो चरणमा एकै दिन तिन वटा खेलहरु खेलिनेछ। दोश्रो चरणमा पहिलो चरणमा एउटा समुहमा रहेको टिमले अर्को समुहमा रहने टिमहरुसंग प्रतिस्पर्धा गर्नेछ।

फेब्रुअरी ५ देखि प्रतियोगिताको प्लेअफ खेलहरु खेलिनेछ भने फेब्रुअरी ६ तारिखमा फाइनल र तेश्रो स्थानको लागि खेल हुनेछ।

१० दिन चल्ने लिगको खेलहरु नेपाली समय बेलुका ५:४५ बजे सुरु हुनेछ। तिन वटा खेल प्रत्येक दिन हुँदा पहिलो खेल ५:४५ बजे, दोश्रो खेल ८ बजे तथा तेश्रो खेल १०:१५ बजे राति सुरु हुनेछ।

अबु धाबी टि-१० लिगको प्रत्यक्ष प्रशारण सोनी सिक्स, सोनी टेन ३ च्यानलले गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy