टि-१० लिग : कुशल आवद्ध टिम अबुधाबीको लगातार दोश्रो हार

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली खेलाडी कुशल मल्ल र पारस खड्का मेन्टरको रुपमा आवद्ध टिम ‘टिम अबुधाबी’ कलन्दर्ससंग ९ विकेटले पराजित भएको छ।

लिगमा टिम अबुधाबीको यो लगातार दोश्रो हार हो। यस अघि शुक्रबार सम्पन्न पहिलो खेलमा टिम अबुधाबीलाई डेक्कन ग्ल्याडीएटर्सले ६ विकेटले पराजित गरेको थियो।

शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा टिम अबुधाबीले दिएको १०१ रनको लक्ष्य कलन्दर्सले ८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। कलन्दर्सको लागि शर्जिल खानले सर्वाधिक अविजित ४० रन बनाए भने टम ब्यान्टनले ३० तथा सोहेल अख्तरले अविजित २७ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको टिम अबु धाबीले १० ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो। अबुधाबीको लागि जोए क्लार्कले सर्वाधिक ३४ रन बनाए। यस्तै पल स्टरलिंगले २९, बेन डकेटले १५ तथा नजीबुल्लाह जद्रानले १२ रन बनाए। कलन्दर्सको बलिंगमा शाहिद अफ्रिदीले २ विकेट तथा सुल्तान एहमद र क्रिस जोर्डनले समान १ विकेट लिए।

अबु धाबीले आजको खेलमा पनि कुशल मल्ललाई अन्तिम-११ मा मौका दिएन। अबुधाबीले अब आगामी खेल नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्स बिरुद्ध आइतबार खेल्नेछ। खेल नेपाली समय बेलुका ५:४५ बजे सुरु हुनेछ।

लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले लगातार दोश्रो हार बेहोर्ने क्रममा बांग्ला टाइगर्ससंग ६ विकेटको हार बेहोर्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy