युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। समुह ‘१’ अन्तर्गत दिउँसो ३:४५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दक्षिण अफ्रीका र वेस्टइन्डिज बीच खेल हुनेछ। यस्तै समुह ‘२’ अन्तर्गत शारजाह क्रिकेट स्टेडियममा पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।
दक्षिण अफ्रीका र वेस्टइन्डिज दुवै टिमको आज दोश्रो खेल हो। दक्षिण अफ्रीका पहिलो खेलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित भएको थियो जुन क्रममा उसले दिएको ११९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट क्षेतीमा भेटाएको थियो। अर्कोतर्फ वेस्टइन्डिज इंग्ल्यान्डसंग ६ विकेटले पराजित हुने क्रममा लज्जास्पद ब्याटिंग प्रदर्शन गर्दै ५५ रन मात्र बनाउन सकेको थियो। पछिल्लो हार बिर्सेर दुवै टिम आफ्नो ब्याटिंगमा सुधार गर्न चाहनेछ भने पहिलो जितले आत्मविश्वास दिनेछ।
हेड टु हेड : वेस्टइन्डिज र दक्षिण अफ्रीका बीच हालसम्म भएका १५ टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीका ९ खेलमा तथा वेस्टइन्डिज ६ खेलमा विजयी भएको छ। यस्तै टि-२० विश्वकपमा भएको ३ भेटमा दक्षिण अफ्रीका २ तथा वेस्टइन्डिज १ खेलमा विजयी भएको छ। अन्तिम पटक दुई टिम बीच २०१६ टि-२० विश्वकपमा भेट हुँदा वेस्टइन्डिज ३ विकेटले विजयी भएको थियो।
वेस्टइन्डिजको सम्भावित ११ : इभिन लुइस, लेन्डल सिमोन्स, क्रिस गेल, निकोलस पुरन ( विकेटकिपर ) , शिमरन हेटमायर, काईरन पोलार्ड, आन्द्रे रसेल, ड्वेन ब्राभो, अकेल होसेन, ओबेद म्याकोय, रभी रामपौल
दक्षिण अफ्रीकाको सम्भावित ११ : क्विंटन डिकक, तेम्बा बभुमा (कप्तान), एडन मारक्रम, रसी भान डर डुसेन, डेभिड मिलर, हेनरिक क्लासेन/ रेजा हेन्ड्रिक्स, कागीसो रबाडा, केशव महाराज, लुंगि एनगिडी, एनरिक् नोर्किया, तबरेज शम्शी
अर्कोतर्फ पहिलो खेलमै बलियो मानिएको भारत बिरुद्ध विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको पाकिस्तानले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ। पाकिस्तानले भारतले दिएको १५२ रनको लक्ष्य विकेट नगुमाई पुरागर्दै शानदार सुरुवात गरेको थियो। केन विलियमसन कप्तानीको न्युजिल्यान्ड पहिलो खेल खेल्न लागेको हो। प्रतियोगिता अघि अभ्यास खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गर्दा इंग्ल्यान्डसंग १३ रनको हार बेहोरेको थियो। पाकिस्तान भारत बिरुद्धको लय कायम राख्दै सेमीफाइनल सम्भावना बलियो बनाउन चाहन्छ भने न्युजिल्यान्ड सुरुवाती जितको लय चाहन्छ।
हेड टु हेड : पाकिस्तान र न्युजिल्यान्ड बीच इतिहासमा २४ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएका छन् जसमध्ये १४ खेल पाकिस्तानले तथा १० खेल न्युजिल्यान्डले जितेको छ। टि-२० विश्वकपमा दुई टिम ५ पटक आमने-सामने भएका छन् जसमध्ये ३ खेलमा पाकिस्तान र २ खेलमा न्युजिल्यान्ड विजयी भएको छ। अन्तिम पटक दुई टिम बीच २०१६ टि-२० विश्वकपमा भेट हुँदा न्युजिल्यान्ड २२ रनले विजयी भएको थियो।
पाकिस्तानको सम्भावित ११ : बाबर आजम ( कप्तान ), मोहम्मद रिजवान ( विकेटकिपर ) , फखर जमान, मोहम्मद हफिज, शोयब मलिक, आसिफ अलि, शदाब खान, इमाद वासिम, हसन अलि, हरिस रौफ, शाहिन अफ्रिदी
न्युजिल्यान्डको सम्भावित ११ : मार्टिन गप्टिल, डेभोन कनवे, ग्लेन फिलिप्स, केन विलियमसन (कप्तान ), टिम सेफर्ट ( व्विकेटकिपर ) , डेरेल मिचेल, मिचेल स्यान्टनर, टिम साउदी, ट्रेन्ट बोल्ट, लकी फर्गुसन/कायल जेमीसन, इश सोढि
