युएई र ओमानमा संयुक्तरुपमा जारि सातौं संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको खेलहरु आज समाप्त हुँदैछन्। समुह ‘बि’ अन्तर्गतको खेलहरु समाप्त भइसकेको छ जसबाट समुह विजेताको रुपमा स्कटल्याण्ड र उपविजेताको रुपमा बंगलादेश सुपर-१२ चरण प्रवेश गरेको छ।
युएईको शारजाह मैदानमा आज समुह ‘ए’ अन्तर्गत हुने दुई खेलमा बेलुका ३:४५ बजे नामिबिया र आयरल्याण्ड तथा राति ७:४५ बजे श्रीलंका र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।
आयरल्याण्ड र नामिबिया बीचको खेलमा विजयी हुने टिम सुपर-१२ चरण प्रवेश गर्नेछ भने पराजित हुने टिम बाहिरिनेछ। आयरल्याण्डले नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा श्रीलंकासंग ७० रनको हार बेहोरेको थियो। नामिबिया श्रीलंकासंग ७ विकेटले पराजित हुँदा दोश्रो खेलमा नेदरल्याण्डलाई ६ विकेटले हराएको थियो।
छैठौं पटक टि-ट्वान्टी विश्वकप खेलीरहेको आयरल्याण्ड सन् २००९ मा पहिलो सहभागितामा दोश्रो चरण प्रवेश गर्न सफल भएको थियो। त्यसपछि २००९, २०१०, २०१२, २०१५ र १०१६ को संस्करणमा पहिलो चरणमै यात्रा टुंगिएको थियो। अर्कोतर्फ पहिलो पटक विश्वकप खेलीरहेको नामिबियालाई आज विजयी भए पहिलो सहभागितामै दोश्रो चरण प्रवेश गर्ने अवसर छ।
श्रीलंका दुवै खेल जित्दै यस अघिनै सुपर-१२ चरण पुगीसकेको छ भने दुवै खेलमा पराजित नेदरल्याण्ड बाहिर भइसकेको छ। श्रीलंकाले नामिबियालाई ७ विकेटले तथा आयरल्याण्डलाई ७० रनले पराजित गरेको थियो।
श्रीलंकाको नेट रन रेट निकै बलियो +३.१६५ रहेको हुँदा आज पराजित भएको खण्डमा पनि श्रीलंका समुह विजेता हुने निश्चित छ। आयरल्याण्ड र नामिबियाको नेट रन रेट क्रमशः -१.०१० र -१.१६३ छ त्यसकारण दुई टिम मध्ये एउटा टिम समुह उपविजेता हुने निश्चित छ। समुह ‘ए’ को विजेता टिम सुपर-१२ चरणमा समुह ‘१’ मा हुनेछ जुन समुहमा अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज, इंग्ल्यान्ड र बंगलादेश छन्। समुह ‘बि’ को विजेता टिम सुपर-१२ चरणमा समुह ‘२’ मा हुनेछ जुन समुहमा पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्याण्ड र भारत रहेका छन्।