युएई र ओमानमा अक्टोबर १७ तारिख देखि नोभेम्बर १४ तारिखसम्म आयोजना हुने टि-ट्वान्टी विश्वकप २०२१ को समुह बिभाजन भएको छ। आईसीसीले शुक्रबार सार्वजनिक गरेको समुह बिभाजनमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै समुहमा रहेका छन्।
भारत र पाकिस्तान सहित न्युजिल्यान्ड र अफगानिस्तान समुह ‘२’ मा रहेका छन् जसमा अन्य दुई टिम समुह चरणबाट छनोट हुनेछन्। यस्तै अर्को समुह ‘१’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका र वेस्टइन्डिज सहित अन्य दुई टिम समुह चरणबाट छनोट हुनेछन्। यी ८ राष्ट्रहरु वरियताको आधारमा स्वतः सुपर-१२ चरणमा छनोट भएका हुन्।
८ राष्ट्रहरु बाहेक अन्य ४ राष्ट्रको छनोट समुह चरणको खेलबाट हुनेछ। श्रीलंका र बंगलादेश सहित आयरल्याण्ड, नेदरल्याण्ड, नामिबिया, स्कटल्याण्ड, पपुवा न्युगिनी र आयोजक ओमानले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणमा सहभागी ८ वटा टिमलाई पनि दुई वटा समुहमा बिभिजन गरिएको छ। समुह ‘ए’ मा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया रहेका छन् भने समुह ‘बि’ मा बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यु गिनी र ओमान रहेका छन्। समुह चरणमा हुने प्रतिस्पर्धा पछि दुवै समुहबाट २/२ टिम सुपर-१२ चरणमा प्रवेश गर्नेछन्।
सुपर-१२ चरणमा दुई वटा समुहमा रहेका सबै टिमले एक-अर्का बिरुद्ध प्रतिस्पर्धा गरेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनलमा प्रवेश गर्नेछन्।
सुपर-१२ चरण : समुह ‘१’- इंग्ल्यान्ड, अस्ट्रेलिया, वेस्टइन्डिज र ग्रुप ‘ए’ को विजेता र समुह ‘बि’ को उपविजेता , समुह ‘२’ भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, ग्रुप ‘बि’ को विजेता र ग्रुप ‘ए’ को उपविजेता
समुह चरण : ग्रुप ‘ए’ – श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया , समुह ‘बि’ – बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यु गिनी र ओमान
समुह बिभाजन मार्च २०, २०२१ सम्मको टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा गरिएको हो। छ वटा टिम – आयरल्याण्ड, नेदरल्याण्ड, नामिबिया, ओमान, पपुवा न्युगिनी र स्कटल्याण्डले सन् २०१९ को टि-२० विश्वकप छनोट प्रतियोगिताबाट विश्वकपमा स्थान पक्का गरेका थिए। अन्य ८ टोलिले भने वरियताको आधारमा सोझै विश्वकपमा प्रवेश पाएका थिए।
प्रतियोगिताको खेल तालिका पनि आईसीसीले निकट भविष्यमै सार्वजनिक गर्नेछ।
भारतमा आयोजना हुने घोषणा गरिएको प्रतियोगिता कोरोना महामारीका कारण भारतमा आयोजना हुन नसक्ने भएपछि भारतनै आयोजक रहने गरि युएई र ओमानमा आयोजना हुन लागेको हो।
विश्वकपको खेलहरु चारवटा मैदानमा खेलिनेछन् जसमा दुबई अन्तर्राष्ट्रिय स्टेडियम, शेख जायद स्टेडियम अबुधाबी, शारजाह स्टेडियम र ओमान क्रिकेट एकेडेमी मैदान रहेका छन्।