सुपर-१२ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसंग ६ रनले पराजित भएको थियो।
ओमान र युएईमा संयुक्त रुपमा जारि विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेशले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १२७ रन मात्र बनाउन सक्यो। ओमानको लागि ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कश्यप प्रजापतिले २१, मोहम्मद नदीमले अविजित १४ तथा जिसान मक्सुदले १२ रन बनाए।
ओपनर अकिब इल्यास दोश्रो ओभरमा मुस्तफिजुर रहमानबाट एलबिडब्लु भएपछि जतिन्दर सिंहले दोश्रो विकेटको लागि कश्यप प्रजापतिसंग ३४ रन जोडे। छैठौं ओभरमा प्रजापतिलाई मुस्तफिजुरले क्याच आउट गरे। जतिन्दरले तेश्रो विकेटको लागि कप्तान जिशान मक्सुदसंग ३४ रन जोडे। बाह्रौं ओभरमा मक्सुदलाई मेहदी हसनले क्याच आउट गराए। तेह्रौं ओभरमा जतिन्दरलाई शाकिब अल हसनले क्याच आउट पारे। त्यसपछि ओमानले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप १३ ओभरमा ९०/३ को अवस्थाबाट बाट योगफलमा ७ ओभरमा ६ विकेट गुमाएर थप ३७ रन मात्र जोड्न सक्यो।
बंगलादेशको बलिंगमा मुस्तफिजुर रहमानले ४ विकेट ( ४-०-३६-४ ) तथा शाकिब अल हसनले ३ विकेट ( ४-०-२८-३ ) लिए। मोहम्मद सैफुद्दीन र मेहदी हसनले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १५३ रन बनाएको थियो। बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै शाकिब अल हसनले २९ बलमा ६ चौका मद्दतले ४२ रन बनाए। महमुदुल्लाहले १७ रन बनाए।
लिटन दास र मेहदी हसन छिटै पेभेलियन फर्किएपछि नैम र शाकिबले तेश्रो विकेटको लागि ८० रन जोडेका थिए। शाकिब र नैम आउट भएपछि लगातार विकेट गुमाएको बंगलादेश १०१/२ को अवस्थाबाट १२२/६ को अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम नरोकिदा बंगलादेशले अन्तिम ५ ओभरमा ६ विकेट गुमाएर ४१ रन मात्र बनायो।
ओमानको बलिंगमा फयाज बट ( ४-०-३०-३ ) र बिलाल खानले ( ४-०-१८-३ ) समान ३ विकेट लिए। कलेमुल्लाहले २ विकेट ( ४-०-३०-२ ) तथा जिशान मक्सुदले १ विकेट ( २-०-१७-१ ) लिए।
जितपछि समुह ‘बि’ बाट सुपर-१२ चरणमा पुग्ने दुई टिमको निर्णय बिहिबार हुने बंगलादेश र पपुवा न्युगिनी तथा ओमान र स्कटल्याण्ड बीचको खेल पछि हुनेछ। समुह ‘बि’ मा बंगलादेश, स्कटल्याण्ड, ओमान र पपुवा न्यु गिनी मध्ये सबै टिमले एकअर्का बिरुद्ध एक/एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सुपर-१२ चरण प्रवेश गर्नेछ। स्कटल्याण्डले खेलेको दुवै खेलमा जित हाँसिल गरिसकेको छ भने बंगलादेश र ओमानले दुई खेल खेल्दा एक/एक जित दर्ता गरेका छन्। पपुवा न्यु गिनीले दुवै खेलमा हार बेहोरेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार समुह ‘ए’ अन्तर्गत दुई खेल हुनेछन्। शेख जायद स्टेडियममा ३:४५ बजे बेलुका नामिबिया र नेदरल्याण्ड तथा ७:४५ बजे रातिको दोश्रो खेलमा श्रीलंका र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।
