टि-२० विश्वकपको सेमीफाइनल पुग्ने पहिलो टिम न्युजिल्यान्ड, लिटलको ह्याट्रिक खेर

२०७९ कार्तिक १८, शुक्रबार १६:५२

आइसिसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा न्युजिल्याण्डले तेस्रो जित निकालेको छ ।

अस्ट्रेलियाको एडिलेटमा शुक्रबार आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले तेस्रो जित निकालेको हो ।यस जितसँगै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि पाउल स्ट्रर्लिङले सर्वाधिक ३७ रन जोडे । कप्तान एन्डी बलब्रिनीले ३० तथा जर्ज डोक्रेलले २३ रन बनाए । लोर्कान टुकर १३ र ग्यारेथ डिलानेले १० रन बनाए । न्युजिल्याण्डका लक्की फर्गुसनले ३ विकेट लिए । मिचेल स्टानर, टिम साउथी र इश सोधीले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै फिन ललनले ३२ तथा ड्रायल मिचेलले अविजित ३१ रन बनाए ।

डेभोन कोन्वेले २८ रन बनाउँदा ग्लेन फिलिप्सले १७ रन जोडे ।

आयरल्याण्डका जोस लिटलले ह्याट्रिक विकेट लिए । उनले १९ औँ ओभरको दोस्रो बलमा विलियम्सन, तेस्रो बलमा जेम्स निशम र चौथो बलमा मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।

ग्यारेथ डिलानेले २ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ५ खेलबाट ७ अङ्क जोडेको छ । न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ । आयरल्याण्ड ५ खेलमा ३ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy