युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको समुह ‘बि’ अन्तर्गतको खेलमा स्कटल्याण्डले दोश्रो जित दर्ता गर्ने क्रममा पपुवा न्यु गिनीलाई १७ रनले पराजित गरेको छ।
ओमानको अल अमिरात मैदानमा स्कटल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले १९.३ ओभरमा १४८ रनमा सम्पूर्ण विकेट गुमायो। उसको लागि नोर्मन भानुवाए सर्वाधिक ४७, सिसि बाउले २४, असद भाला र किप्लिन डोरिगाले समान १८ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको पपुवा न्यु गिनीले ३५ रन बनाउदा ५ विकेट गुमाएको थियो। सातौँ नम्बरमा ब्याटिंग गरेका नोर्मन भानुवाले छैठौं विकेटको लागि सिसि बाउसंग ३२ रनको तथा किप्लिन डोरिगासंग ५३ रनको साझेदारी गरे। जित्न ४ ओभरमा ४६ रन आवस्यक हुँदा सत्रौं ओभरमा डोरीगालाई मार्क वाटले पेभेलियन फर्काउदै ओभरमा मात्र ४ रन खर्चिए। लगत्तै ओभरमा भानुवालाई जोश डेभेले विकेट पछाडी क्याच आउट गर्दै स्कटल्याण्डलाई खेलमा हावी गरे।
स्कटल्याण्डको बलिंगमा दायाँ हाते पेसर जोश डेभेले सर्वाधिक ४ विकेट ( ३.३-०-१८-३४ ) लिए। ब्राडलि व्हिल, एलेस्डर इभान्स, मार्क वाट र क्रिस ग्रिभ्सले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १६५ रन बनाएको थियो।
स्कटल्याण्डको ब्याटिंगमा रिची बेरिंगटनले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै म्याथु क्रसले ४५ रन बनाए। बेरिंगटन र क्रसले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गरेका थिए। पपुवा न्यु गिनीको बलिंगमा कबुवा मोरियाले सर्वाधिक ४ विकेट ( ४-०-३१-४ ) तथा चाड सोपरले ३ विकेट ( ४-०-२४-३ ) लिए।
स्कटल्याण्डले पहिलो खेलमा बंगलादेशलाई ६ रनले पराजित गरेको थियो। पहिलो खेलमा ओमानसंग १० विकेटले पराजित भएको पपुवा न्यु गिनीको यो दोश्रो हार हो। जितपछि स्कटल्याण्डको दोश्रो चरण पुग्ने सम्भावना बलियो बन्दा पपुवा न्यु गिनीको कमजोर बनेको छ। समुह ‘बि’ मा स्कटल्याण्ड, पपुवा न्यु गिनी र बंगलादेश र ओमान रहेका छन्। सबै ४ टिमले एक अर्कासंग एक /एक खेल खेलेपछि समुहमा उत्कृस्ट हुने दुई टिम सुपर-१२ चरण प्रवेश गर्नेछ।

समुह ‘बि’ अन्तर्गत आज ओमान र बंगलादेश बीच प्रतिस्पर्धा हुँदैछ। आज ओमान विजयी भएको खण्डमा बंगलादेश र पपुवा न्यु गिनी प्रतियोगिताको पहिलो चरणबाटै बाहिर हुनेछ भने स्कटल्याण्ड र ओमान सुपर-१२ चरण प्रवेश गर्ने पक्का हुनेछ। ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो। बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो।
