टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम

२०७७ मंसिर १५, सोमबार २०:४७

अष्ट्रेलियाका बायाँ हाते ओपनर ब्याट्सम्यान डेविड वार्नर चोटका कारण भारत विरुद्धको अन्तिम एक दिवसीय तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्। ३ खेलको टि-ट्वान्टी सिरिजका लागि उनको स्थानमा अर्का बायाँ हाते ओपनर ब्याट्सम्यान डार्सी शटले मौका पाएका छन्।

भारतविरुद्ध आइतबार सम्पन्न दोस्रो एक दिवसीय खेलमा फिल्डिंगको दौरान असहज महसुस गरेपछि उनले मैदान छाडेका थिए। जोस हेजलवुडले गरेको चौथौं ओभरको चौथौं बलमा शिखर धवनले हिर्काएको बललाई मिड-अनमा डाइभ गरेर रोक्ने क्रममा उनि घाइते भएका थिए। स्क्यान गर्दा उनलाई ग्रोइन स्ट्रेन पुष्टि भएको थियो।

सिरिज अन्तर्गत पहिलो र दोस्रो खेलमा क्रमशः ६९ र ८३ रन बनाउदै वार्नरले शानदार प्रदर्शन गरेका थिए। उनले कप्तान एरोन फिन्चसंग पहिलो विकेटको लागि उत्कृष्ट साझेदारी गर्दै टिमको जितमा अहम् योगदान दिएका थिए। अष्ट्रेलियाली प्रमुख प्रशिक्षक जस्टिन ल्यांगर वार्नर १७ डिसेम्बरबाट सुरुहुने पहिलो टेस्टका लागि फिट रहनेमा आशावादी रहेका छन्।

प्याट कमिंसलाई विश्राम

अष्ट्रेलियाका दायाँ हाते तीव्र गतिका बलर प्याट कमिंसले तेस्रो एक दिवसीय तथा टि-ट्वान्टी सिरिजका लागि विश्राम पाएका छन्। हाल टेस्ट फर्म्याटको बलिंग वरियतामा पहिलो स्थानमा रहेका कमिंसलाई आगामी टेस्ट शृंखला अगाडी विश्राम दिएको हो। २७ वर्षीय कमिंसले पहिलो एक दिवसीयमा विकेट हात पार्न असफल रहेका थिए भने दोस्रो एक दिवसीयमा ६७ रन खर्चिएर ३ विकेट लिएका थिए।

“प्याट र डेवि टेस्ट सिरिजका लागि हाम्रो योजना अनुसार निकै महत्वपूर्ण छन्”

“डेविले आफ्नो चोटमा काम गर्नेछन्। प्याटको केसमा सबै खेलाडीलाई चुनौतिपूर्ण समरमा शारीरिक र मानसिक रुपमा फिट राख्न महत्वपूर्ण हुन्छ। मुख्य प्राथमिकता भनेको ठुलो र महत्वपूर्ण टेस्ट सिरिजको लागि पूर्ण रुपमा फिट राख्ने हो।” प्रमुख प्रशिक्षक ल्यांगरले बताए।

सिरिज अन्तर्गत घरेलु टिम पहिलो एकदिवसीयमा ६६ रनले दोश्रो एकदिवसीयमा ५१ रनले विजयी भएको थियो। तेश्रो तथा अन्तिम खेल डिसेम्बर २ ( बुधबार ) मा खेलिनेछ। त्यसपछि दुइ टिम बीच डिसेम्बर ४ देखि तिन वटा टि-२० को तथा डिसेम्बर ११ देखि चार वटा टेस्टको सिरिज खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy