युएईमा जारि टि-२० विश्वकपको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाउदै पाकिस्तानलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। अफगानिस्तानको लागि गुल्बदिन नैबले मोहम्मद र मोहम्मद नाबीले अविजित रहँदै समान ३५ रन बनाए। नैबले २५ बलमा ४ चौका र १ छक्का तथा नाबीले ३२ बलमा ५ चौका प्रहार गरे। यस्तै नजीबुल्लाह जद्रानले २२, करिम जनतले १५ तथा रहमनुल्लाह गुर्बज र अस्घर अफ्घानले समान १० रन बनाए।
७६ रनमा ६ विकेट गुमाएको अवस्थामा नाबीले गुल्बदिन नैबसंग साझेदारी गर्दै योगफल सय पार गराए। हसन अलिले गरेको अठारौं ओभरमा गुल्बदिन नैबले १ छक्का र २ चौका प्रहार गर्दा अफगानिस्तानले एकै ओभरमा १९ रन पायो। उन्नाइसौं ओभरमा हरिस रौफले १५ रन खर्चिए। अन्तिम ओभरमा शाहिन अफ्रिदीले ७ रन खर्चिए। अन्तिम ५ ओभरमा अफगानिस्तानले विकेट नगुमाई ५४ रन बनायो भने नैब र नाबीले ४५ बलमा अविजित ७१ रनको साझेदारी गरे।
पाकिस्तान बलर इमाद वासिमले दुई विकेट ( ४-०-२५-२ ) लिए भने, शाहिन अफ्रिदी ( ४-०-२२-१ ), हरिस रौफ ( ४-०-३७-१), हसन अलि ( ४-१-३८-१ ) र शदाब खान ( ४-०-२-१ ) ले समान एक विकेट लिए।
चिर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको पाकिस्तानले सोहि लय कायम राख्दै दोश्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्यो। लगातार तेश्रो जित दर्ता गरेको खण्डमा पाकिस्तानको सेमीफाइनल यात्रा लगभग सुनिश्चित हुनेछ। स्कटल्याण्ड र नामिबियासंगको खेल मात्र बाँकी रहने हुनाले पाकिस्तान सेमीफाइनल पुग्न ठूलो दबाबमा छैन। अर्कोतर्फ अफगानिस्तान स्कटल्याण्ड बिरुद्ध १३० रनको विशाल जित दर्ता गर्दै शानदार सुरुवात गरेता पनि वास्तविक परिक्षा पाकिस्तानसंगको खेलले हुनेछ। पाकिस्तानलाई पराजित गर्ने हो भने अफगानिस्तान पनि सेमीफाइनलको दावेदारी प्रस्तुत गर्नेछ।