T20WC : रोहित र राहुलको अर्धशतक, नामिबिया बिरुद्ध भारतको सहज जित

२०७८ कार्तिक २२, सोमबार २२:४३

नामिबिया बिरुद्ध विशाल जित दर्ता गर्दै भारतले टि-ट्वान्टी विश्वकप २०२१ को सुखद अन्त्य गरेको छ। यो संगै भारतको टि-२० अन्तर्राष्ट्रिय कप्तानको रुपमा बिराट कोहली र भारतको प्रशिक्षकको रुपमा रभी शास्त्रीको कार्यकाल पनि समाप्त भएको छ। कोहलीले विश्वकप पछि भारतको टि-२० कप्तानी छाड्ने घोषणा गरेका थिए भने शास्त्रीलाई भारतको प्रशिक्षकको रुपमा अब राहुल द्रविडले प्रतिस्थापन गर्नेछन्।

प्रतियोगिताको पहिलो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको भारतले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई पराजित गरेता पनि ६ अंक सहित समुह ‘२’ को तेश्रो स्थानमा रहँदै सेमीफाइनल पुग्न असफल रह्यो। नामिबियाले स्कटल्याण्डसंग जित दर्ता गर्दा अन्य ४ खेलमा हार बेहोर्यो। पाकिस्तान र न्युजिल्यान्ड समुह ‘२’ बाट सेमीफाइनल पुगीसकेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो। भारतीय ओपनर रोहित शर्माले ३७ बलमा ७ चौका र २ छक्का मद्दतले सर्वाधिक ५६ रन बनाए। यस्तै केएल राहुलले अविजित ५४ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। सुर्यकुमार यादवले अविजित २५ रन बनाए।

ओपनर रोहित र राहुलले ९.५ ओभरमा ८६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। रोहित दशौँ ओभरमा जान फ्राईलिंकबाट क्याच आउट भएपछि राहुल र यादवले अविजित ५० रनको साझेदारी गरे।

टस हारेर ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट क्षेतीमा १३२ रन बनाएको थियो। उसको लागि डेभिड विजाले सर्वाधिक २६ रन बनए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले अविजित १५, माइकल भान लिंगेनले १४, रुबेन ट्रंपलम्यानले अविजित १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए। ओपनर लिंगेन र बार्डले ३३ रनको साझेदारी नामिबियाको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

भारतीय बलर रभीचन्द्रन आश्विन ( ४-०-२०-३ ) र रभीन्द्र जडेजा ( ४-०-१६-३ ) ले समान तिन विकेट लिंदा जस्प्रित बुम्राहले २ विकेट ( ४-०-१९-२ ) लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy